तपाईँ सुन्दै हुनुहुन्छः

आध्यात्मिक पर्यटकीयस्थल स्वर्गाश्रम (फोटोफिचर)

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम क्षेत्र पूर्वाधार निर्माणले चिटिक्क बनेको छ ।

हिमाल अगाडी पहाडको थुम्कोमा रहेको  एकसय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । 

समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्त्व बोकेको छ । यस क्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोग पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ। 

आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट सङ्कलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको स्वर्गाश्रम बेलढुंगा क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो ।

धार्मिक स्थल स्वर्गाश्रममा को अगाडिपट्टि चट्टानमाथि पानीको कुवा, धुपी सल्लाका सर्लक्क परेका रुख र ती रुखका बिचमा ग्रामीण शैलीको ढुङ्गाले छाएको २ तले परम्परागत घर छ। बटुवा र ध्यान बस्न आउनेहरूलाई लक्षित गरी चिटिक्कको सत्तल बनाइएको छ भने तपस्या स्थलदेखि विश्रामस्थल, प्रवेशद्वार र ढुङ्गा बिच्छाइएको स्वर्गाश्रम ओझेलमा छ । आश्रम आसपासको जङ्गलमा तत्कालीन समयमा ईश्वरानन्द सरस्वती एक्लै तपस्या र ध्यान बसेको ओडारसहितका अन्य भग्नावशेष अहिलेसम्म छ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत म्याग्दीको सदरमुकाम बेनीनजिकै रहेको आकर्षक गन्तव्य स्वर्गाश्रममा फाटफुट पर्यटक पुग्न थालेपछि गण्डकी प्रदेशले २० लाख, बेनी नगरपालिकाबाट २४ लाख र स्थानीयको जनश्रमदानबाट पूर्वाधार विस्तार गरेको स्वर्गाश्रम बेलढुंगा व्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो । 

प्राकृतिक रूपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमको प्रचारप्रसार नहुँदा ओझेलमा परेको बेनपा–३ का वडाध्यक्ष पदम पुनले भन्नुभयो । बेनी नगरपालिकाले पनि धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न पर्यटकीयस्थलको रुपमा सूचिकृत गरेको छ । 

स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँ बस्तीलाई समेत अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रममा हरेक वर्षको वैशाख १ गते रथयात्रासमेत गरिँदै आइएको छ । पुरानो इतिहास बोकेको आश्रमको प्रचारप्रसार गरी पर्यटन विकास गर्नसकेमा यस क्षेत्रमा धार्मिक पर्यटकलाई भित्र्याउन सकिने समितिका अध्यक्ष जिसीले बताउनुभयो ।

भकिम्लीबासी स्वर्गाश्रमदेखि करिब आधा घण्टाको पैदल दूरीमा रहेको बेलढुंगा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न लागि परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button