तपाईँ सुन्दै हुनुहुन्छः

योजनामा तीनै तह समेटिनुपर्छ : मुख्यमन्त्री जम्मरकट्टेल

मकवानपुर । राष्ट्रिय योजना आयोगले तयार पार्ने योजनामा सरकारका तीनै तह समेटिनुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले दिगो विकासका लक्ष्य हासिल गर्न संविधानको मर्म, भावनाअनुसार क्षेत्राधिकारसँग मेल खाने योजना तयार गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेको सोह्रौँ योजना आर्थिक वर्ष २०८१/८२–२०८५/८६ तर्जुमा सम्बन्धी प्रारम्भिक मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री जम्मरकट्टेलले परिवर्तित राज्य व्यवस्थाअनुसार नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिनुभयो ।

प्रदेश अनुसारको योजना नीतिलाई नयाँ ढङ्गले विकास योजना तयार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री जम्मरकट्टेलले सम्बन्धित प्रदेशको साधन स्रोतलाई उचित परिचालन हुने गरी तयार गर्नुपर्ने बताउनुभयो । आवश्यकता पहिचान नगरी योजना तर्जमा गर्दा सोचेजस्तो सफलता हासिल गर्न नसकिने भएकाले त्यसतर्फ उचित ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संरचनात्मक रुपान्तरणका लागि प्रस्तावित विषयलाई समेटेर योजना तयार गरिने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई तीव्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने बताउनुभयो । मस्यौदा माथिको छलफल मङ्गलबार सम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button