तपाईँ सुन्दै हुनुहुन्छः

माइक्रोवियल इकोलोजी सम्बन्धी दक्षिण एशियाली सम्मेलन सम्पन्न

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित माइक्रोवियल इकोलोजी सम्बन्धी तीन दिनसम्म सञ्चालन भएको दक्षिण एशियाली सम्मेलन जलवायु सम्बन्धी विभिन्न ६ बुँदे निष्कर्ष र प्रतिबद्धता घोषणा गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले विश्वव्यापी तापीयकरण कारक रसायन (ग्लोबल वार्मिङ ग्याँस) उत्पादन न्यूनीकरण गर्न सूक्ष्म जीवहरूको भूमिका अध्ययन तथा प्रयोग गर्न, मानव जातिको हितको लागि सूक्ष्म जीवीय समूहहरूको आनुवंशिक भण्डारको संरक्षण गर्दै तीनका क्षमताहरू प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

सम्मेलन मार्फत् दक्षिण एसियामा रहेको सुक्ष्मजैविक विविधताको गहन अध्ययन गर्ने र उपयोगमा ल्याउन सकिने पक्षहरूको अन्वेषण गरी प्रयोगमा ल्याउने दिशामा अनुसन्धान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकाल्दै पारिस्थितिक प्रणालीको दिगोपनका लागि दक्षिण एसियामा सुक्ष्मजीव केन्द्रित अध्ययन अनुसन्धान गरी स्वस्थ मानव जीवन र सबैका लागि सुरक्षित वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै जलवायु परिवर्तनका लागि जिम्मेवार ग्याँसहरूको उत्सर्जन न्यूनीकरण गर्न उपस्थित वैज्ञानिक तथा संस्थाहरूबिच आपसी सहयोग आदान प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

सम्मेलन त्रिभुवन विश्वविद्यालय र माइक्रोवियल इकोलोजी नेटवर्क नेपालको आयोजना तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा इन्टरनेशनल सोसाइटी फर माइक्रोवियल इकोलोजी (इज्मी)को प्रमुख प्रायोजनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाका सूक्ष्म जीवन विज्ञान र जैविक प्रविधि विज्ञानका वैज्ञानिक, अन्वेषक तथा शिक्षाविद् र विद्यार्थीहरूले विभिन्न सम्बन्धित विषयका १ सय ३० वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button