तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूमा लगानी बढाउने सरोकारवालाहरूको प्रतिबद्धता

चितवन । युवाहरूमा लगानी बढाउन र स्थानीय तहहरूमा युवामैत्री शासन प्रवद्र्धन गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।

युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै युवाका सवालहरू शासन प्रणालीमा जोड्दै, उनीहरूको सक्रिय सहभागिता, संलग्नता र सहकार्य सुनिश्चित गर्नका लागि सुरुवात गरिएको युवामैत्री स्थानीय शासन अभियानका १४ पालिकाका सहभागीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा कोशी प्रदेशको  रौतामाई गाउँपालिका र  त्रियुगा नगरपालिका, मधेस प्रदेशको कञ्चनरुप नगरपालिका र खडक नगरपालिका, बागमती प्रदेशको माडी नगरपालिका र कालिका नगरपालिका,  गण्डकी प्रदेशको कावासोती नगरपालिका र देवचुली नगरपालिका, लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका र सुनवल नगरपालिका, कर्णाली प्रदेशको महाभु गाउँपालिका र नौमुले गाउँपालिका तथा  सुदूरपश्चिम प्रदेशको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाहरू समावेश भएका थिए ।

यस अभियानलाई ठोस रूप दिई पालिकाहरूकै स्वामित्वमा अघि बढाउने उद्देश्यका साथ कार्तिक १५ देखि १७ गतेसम्म तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा छनौट गरिएका पालिकाहरूबाट युवा जनप्रतिनिधि, युवाहरूको सवाल हेर्ने शाखाका प्रमुख र कार्यपालिका सदस्य सहित ३÷३ जना गरी जम्मा ४२ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नेपाल सरकार राष्ट्रिय युवा परिषद्को अगुवाई तथा युएनडिपी तथा जागृति बाल तथा युवा सरोकार नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको यस तालिमको सहजीकरण दिपेश घिमिरे तथा मिना शर्माले गर्नुभएको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य तिलोत्तम पौडेलले कार्यक्रमको उद्देश्य स्थानीय सरकारका जनप्रतिनिधि तथा  कर्मचारीहरूको  युवामैत्री  स्थानीय तह प्रवद्र्धनका लागि क्षमता अभिवृद्धि तथा प्रतिबद्धता सुनिश्चित गर्ने तथा स्थानीय तहहरूमा भएका असल अभ्यासहरूको अनुभव आदानप्रदान गर्ने रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उप सचिव कमला ज्ञवालीले परिषद्को परिचय दिई पालिकाहरूलाई आवश्यक नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गरी युवामैत्री स्थानीय शासन कार्यक्रमलाई मुलप्रवाहीकरण गर्नका लागि प्रोत्साहन गर्नुभएको थियो ।

तालिममा उपस्थित युएनडिपीको युवा कार्यक्रम अधिकृत विनीता कार्कीले यस अभियानमा दिगोपनाको लागि रणनीति आवश्यक रहेको बताउँदै बिगत दुई वर्षदेखि युएनडिपीले यो अभियानमा सहकार्य गर्दै आएको बताउनु भयो ।

तालिममा युवामैत्री स्थानीय शासनको परिचय, रणनीतिक योजना, सूचकहरूको स्थानीयकरण तथा पुष्ट्याईका आधारहरू,  युवाका साझा सवालहरूको पहिचान र प्राथमिकीकरण, अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्था, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको सवाल र मुलप्रवाहीकरण, आदि विषयहरूमा गहन रूपमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले बेरोजगारी, विदेश पलायन, बजेटको कमी, लागुऔषध दुर्व्यसन, नेतृत्वको कमी, हानिकारक अभ्यास लगायतका युवाहरूका प्रमुख सवालका रूपमा उठाएका थिए । साथै युवाहरूको सहभागिता वृद्धि गर्न, स्वरोजगारको वातावरण निमार्ण गर्न र लगानी बढाउन युवामैत्री शासन प्रभावकारी हुने धारणा राखेका थिए ।

कार्यक्रमको समापनमा प्रमुख अतिथि राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामैत्री शासन प्रवर्द्धनको लागि परिषद् प्रतिबद्ध रहेको जनाउँदै सबै पालिकाहरूलाई परिषद्सँग समन्वय तथा सहकार्यको लागि अनुरोध गर्दै युवामैत्री स्थानीय शासन प्रवद्र्धनमा लाग्न अपील गर्नुभएको थियो ।

७ रणनीति, ४६ कार्यनीति, ४५ सूचकहरू र अवलम्बन, कार्यान्वयन र घोषणाका लागि ४ चरणहरू भएको युवामैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने विषयमा तीन दिनको छलफलमा कावासोती र कञ्चनरुप नगरपालिकाका उपमेयरले पनि आफ्ना भनाइहरू व्यक्त गर्नुभएको थियो ।

बालबालिका, युवा, किशोरी सशक्तीकरणको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था जागृति बाल तथा युवा सरोकार नेपालले बालमैत्री सँगसँगै युवामैत्री शासन विषयमा वकालत गर्दै आइरहेको छ भने राष्ट्रिय युवा परिषद्ले आफ्नो नीति, कार्यक्रम र बजेटमा नमुना कार्य सुरुवातको लागि ७ वटा प्रदेश र ७७ वटा जिल्ला एक/एक स्थानीय तहमा युवामैत्री शासनका निम्ति बजेट छुट्टाई काम अघि बढाइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button