सडक सञ्जालले जोडिएसँगै चार दिनको यात्रा एकैदिन

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएका छन् । शनिबार मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा ट्याक्टर पू¥याएसँगै मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएका हुन् ।
सरकारले गण्डकी प्रदेशको मनाङ—मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा—मुगु जोड्ने रणनीतिक महत्वको सडक अन्तर्गत २०७५÷०७६ सालदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो ।
मुस्ताङ—डोल्पा सडकका लागि आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले नयाँ ट्याक खोल्ने र सडक स्तरोन्नतिको जिम्मा लिएका थिए ।
मुस्ताङ डोल्पा सडकका लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय बागलुङले अख्तियारी प्राप्त गरेको थियो । सडकका लागि २० करोड लगानी भइसकेको छ ।

६ महिना अघि मुस्ताङ—डोल्पा सडकको ४६ दशमलव ५ किलोमिटर सडकको ट्याक खुल्ला भइसकेकोमा त्यसयता करिब १० किलोमिटरको जोखिमयुक्त पहाडको चट्टान काटेर मुस्ताङ—डोल्पा सडकको ट्याक खुल्ला गरिएको हो ।
गत वर्ष नयाँ ट्याक खोल्न मन्त्रालयले ३ करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु वर्ष नयाँ ट्याक खोल्न मात्र मन्त्रालयले २ करोड बजेट छुट्टाएको थियो ।
मुस्ताङ—डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्याक खोल्नका लागि सिखा ईन्जिनीयरिङ र पम्फा जेभी कन्टक्सनले जिम्मा पाएका थिए ।
उता उपल्लो डोल्पाको छार्का ताङसुङ गाउँपालिकाले मुस्ताङतर्फ जोड्न सडक ट्याक खोल्ने काम गरेको थियो । मुस्ताङ—डोल्पाको सामूहिक प्रयासबाट हिमाली जिल्ला डोल्पा र मुस्ताङ ४ वर्षपछि सडक सञ्जालले जोडिएको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
डोल्पाबाट मुस्ताङतर्फ सडक ट्याक जोड्न छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले पहल गर्नुभएको थियो ।
मुस्ताङ —डोल्पा सडक ट्याक एकआपसमा जोडिएसँगै दुवै सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासी खुसी भएका छन् । यसैबीच मुस्ताङ र डोल्पाको सीमाना सेटाङथाङसम्म दुवैतिरका ट्याक्टरहरूबाट मालसामान ढुवानी गरी गन्तव्यमा पुगेको छन् । शनिबार सडक सडक सञ्जालले जोडिएपछि उपल्लो डोल्पा स्थित छार्का ताङसुङका वडाध्यक्ष धवालवाङ गुरुङले निर्माण कम्पनीका उपकरण अपरेटर ,मुस्ताङका प्रतिनिधि र डोल्पा स्थित छार्का ताङसुङको अध्यक्ष सेनाङ गुरुङलाई अबिरसहित खाँदा लगाएर सम्मान गर्नुभयो ।
मुस्ताङ—डोल्पा सडक समुन्द्री सतहको ४५ सय मिटरको अग्लो उचाइमा सडक विस्तार गरि बनाइएको हो । हिमाली क्षेत्रका ४ जिल्लाका बासिन्दालाई यातायातको सुविधा,मालसामान ढुवानी र पर्यटकीय मार्गलाई सहजता प्रदान गर्न यो सडकसँगै निकै सहज हुने वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताउनुभयो ।
सडक नहुँदा उपल्लो डोल्पाका बासिन्दालाई मुस्ताङ आएर मालसामान ढुवानी गर्न हप्तौदिन लाग्ने गर्थ्यो । सडक विस्तारसँगै अब एकैदिन डोल्पा आउजाउ गर्न सकिने छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले उल्लेख गर्नुभयो । उहाँले उपल्लो डोल्पाका बासिन्दालाई सदरमुकाम दुनै भन्दा नजिकको दुरी मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न नजिक पर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्