तपाईँ सुन्दै हुनुहुन्छः

चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण : मन्त्री यादव

सर्लाही । चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण रहेको नेपाल सरकारका खानेपानी मन्त्री महेन्द्रराय यादवले बताउनुभएको छ ।

उहाँले मधेस प्रदेशमा पिउने पानीका साथै सिँचाइ दिनप्रतिदिन अभाव हुनुको प्रमुख कारण नै चुरे विनाश भएकाले चुरेको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका, जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको आर्थिक प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत निर्मित सौर्य पम्पिङ प्रणाली र आधुनिक कृषि प्रविधिको तीनघरे एकीकृत ग्रामीण विकास खानेपानी आयोजनाको उद्घाटनका क्रममा उहाँले सरकार डोकोमा पानी बोक्ने अवस्थाको अन्त्य गर्न लागिपरेको बताउनुभयो ।

उहाँले खानेपानी तथा सरसफाई ऐन २०७९ पारित गरेर सबै नेपाली जनतालाई शुद्ध पिउने पानी वितरण गर्ने लक्ष्य राखेको बताउँदै एक घर एक धारा पुर्‍याउने काम चाँडै सुरु गर्ने बताउनुभयो । उहाँले अलपत्र परेका सबै योजनालाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका,जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको रु एक करोड ५९ लाख ७३ हजार पाँच सय ३७ रुपैयाँ १२ पैसामा दुई लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजना निर्माण भई आज उद्घाटन गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब तीन सय घरधुरीले शुद्ध पिउने पानी पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button