कार्यक्रम हाम्रो स्वास्थ्य सरोकार प्रसारण गर्ने सम्झौता
पोखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराबिच कार्यक्रम हाम्रो स्वास्थ्य सरोकार प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्मा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार स्वास्थ्य गतिविधि र अन्तर्वार्ता समावेश हुने कार्यक्रम प्रत्येक आइतबार बेलुकी ५.१५ देखि ५.४० सम्म २५ मिनेट प्रसारण हुनेछ ।
त्यस अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माले विगतमा जस्तै आगामी कार्यक्रम पनि सर्वसाधारणहरूलाई सुसूचित गर्दै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम हाम्रो स्वास्थ्य सरोकार रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडियम वेभ ६८४ किलोहर्जका साथै एफ.एम व्याण्डको १०० मेगाहर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लुङकोट, साथै १०३ मेगाहर्जमा नवलपुरको दाउन्ने रिले स्टेशनबाट सुन्न सकिनेछ ।
साथसाथै रेडियो नेपालको अनलाइन, मोबाइल एप र फेसबुक पेजबाट समेत कार्यक्रम प्रसारण हुने प्रमुख यादवले बताउनुभयो ।
सम्झौता अनुसार हाम्रो स्वास्थ्य सरोकार कार्यक्रमको ३७ शृङ्खला प्रसारण हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्