तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदमन्त्री र रुसी राजदूतबिच भेट

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसँग नेपालका लागि रुसका राजदूत एलेस्की नोभिकोभले शिष्टाचार भेट गर्नुभएको छ ।

खेलकुद मन्त्रीको कार्यकक्षमा भएको उक्त भेटमा आगामी मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।

राजदूत नोभिकोभले गेम्स अफ फ्युचरमा नेपालको सहभागिताबारे जानकारी चाहेको बताउँदै त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अतिथिका रूपमा स्वागत गर्न रुस इच्छुक रहेको जानकारी दिनुभएको मन्त्री लिम्बूको निजी सचिवालयले जनाएको छ ।

खेलकुदमन्त्री लिम्बूले नेपाल–रुसबिचको लामो समयदेखिको सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै उक्त खेलमा सहभागी हुन सरकारसँग परामर्श गर्ने जानकारी उहाँले राजदूतलाई दिनुभएको थियो ।

त्यस अवसरमा आगामी वर्ष रुसको सोचीमा हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button