तपाईँ सुन्दै हुनुहुन्छः

आम्दा अस्पतालले मनायो २५ औँ वार्षिकोत्सव

रुपन्देही । बुटवलस्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले स्थापनाको २५औँ वार्षिकोत्सव मनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित वार्षिकोत्सव समारोहमा थप २ सय शैयाको अस्पताल भवन, पुस्तकालय भवनको शिलान्यास, शैक्षिक कार्यक्रमको उद्घाटन र २५औँ वर्ष प्रवेशको अवसरमा निर्मित स्तम्भको उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले आम्दालाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य संस्थाका रुपमा परिचित गराउनका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आम्दाले गैरनाफामूलक संस्थाका रुपमा बुटवलमा मात्रै नभई पश्चिम क्षेत्रमै महिला र बालबालिकाको स्वास्थ्यमा पुर्याएको योगदानको चर्चा गर्दै अस्पतालको विकासमा आफूले सधैँ साथ दिने बताउनुभयो ।

उहाँले अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने गरी योजना अगाडि बढाएकोमा बुटवल उपमहानगरपालिका, आम्दा इन्टरनेशनल र आम्दा नेपाललाई धन्यवाद दिनुभयो ।

आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको स्तर वृद्धि गरी महिला र बालबालिकाका लागि सुविधा सम्पन्न विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार अस्पताल भवनको शिलान्यास गरिएको बताउनुभयो ।

उहाँले आम्दामा १ सय शैयामा थप २ सय शैया थप गरी ३ सय शैयामा पुर्याउदै यस क्षेत्रमै महिला तथा बालबालिकाको स्वास्थ्य उपचारमा विशिष्टीकृत अस्पतालको रुपमा स्थापित गर्ने जनाउनुभयो । उहाँले यसै शैक्षिक सत्रदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

२०५५ कार्तिक १६ (सन् १९९८ नोभेम्बर २) मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीबिच त्रिपक्षीय समझदारी भई ५० शैयाबाट शुरुवात भएको सिद्धार्थ बाल तथा महिला अस्पताल हाल १०० शैयाको क्षमतामा सञ्चालनमा रहेको छ ।

आम्दा अस्पतालले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट मिति २०५५/०६/२१ गते च्यारिटी अस्पतालको रुपमा मान्यता पाएको थियो । अस्पतालबाट रुपन्देही जिल्ला लगायत १६ वटा जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालका अनुसार गत आ.व. २०७९/८० मा ७०,४८६ र पछिल्लो दशक (आ.व. २०७०/७१ देखि आ.व. २०७९/८०० मा ६२१,९४२ जना बिरामीले अस्पतालबाट सेवा प्राप्त गरेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री लिला गिरी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल लगायतले आम्दाको विकासले यस क्षेत्रमा महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सहजता ल्याउने बताउनुभयो ।

त्यस अवसरमा आम्दा अस्पतालको स्थापनामा योगदान पुर्‍याउने तत्कालीन बुटवल नगरपालिकाका मेयर स्वर्गीय सूर्यप्रसाद प्रधानलाई मरणोपरान्त, आम्दा नेपालका संस्थापक अध्यक्ष प्रा डा रामेश्वर पोख्रेल, स्थानीय विकास समितिका सदस्य जीवनप्रसाद ओझा लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button