कोशी प्रदेशमा सहमतीय सरकार बनाउन प्रयास गर्छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै दलको सहमतिमा कोशी प्रदेश सरकार विस्तार गर्न आफु लागि परेको बताउनुभएको छ ।
कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
नेपाल प्रेस युनियन कोशी प्रदेश तथा प्रेस युनियन मोरङले आज उहाँलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रम पछि सञ्चारकर्मीसँग कुरागर्दै मुख्यमन्त्री कार्की कोशी प्रदेशका विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताउनुभयो ।
कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उहाँको भनाई थियो ।
मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्यो त्यो गुणलाई आफूले नबिर्सने भन्नुहुँदै यस अघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पुरा गर्न आफु लागि परेको बताउनुभयो ।
उहाँले कोशी प्रदेशको सरकार चाडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई सफल बनाउने दायित्व सञ्चारकर्मीको रहेको बताउनुभयो । उहाँले सरकारले गर्ने काम कार्यान्वयन भए नभएको त्यस्तो अनुगमन गर्ने र सरकारको काम कार्यान्वयनका लागि दबाब दिनेगरि सञ्चारकर्मीलाई कलम चलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्य तथा प्रेस युनियनका पदाधिकारीहरूले मुख्यमन्त्री कार्कीलाई स्वागत सम्मान गर्दै सफल कार्यकालका शुभकामना दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्