धारा नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशि वृद्धि गरिने

बाँके । धारा नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशिमा वृद्धि हुने भएको छ । आगामी मङ्सिर ९ गते उक्त म्याराथन गर्ने तयारी भइरहेको छ । म्याराथनको तयारीबारे जानकारी दिन बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था क्रियटिभ ह्याण्ड्स जानकारी दिएको हो ।
म्याराथनमा नगद पुरस्कार सम्बन्धि विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताउनुभयो ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा विगत ९ वर्षदेखी निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । म्याराथनका लागि गत भदौ १ गतेदेखी नै खेलाडी दर्ता खुला गरिएको अध्यक्ष ठकुरीले बताउनुभयो ।
‘यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरी विभिन्न १४ वटा विधामा स्पर्धा समावेश भएको छ । स्कुल स्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखी कक्षा ८ तथा ९ देखी १२ सम्मको अलग अलग स्पर्धा गराइनेछ ।’
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालगन्ज म्याराथन र लुम्बिनी म्याराथनलाई प्रदेश खेलकुद परिषद्ले विशेष सम्पत्तिका रुपमा लिएको बताउनुभयो । ‘प्रदेश खेलकुद परिषद्ले यी दुई म्याराथनलाई आफ्नो विशेष सम्पत्तिको रुपमा लिएको छ, यहाँहरूलाई खेलकुद परिषद्ले इम्पावर गर्छ, भने अर्कोतर्फ नियमन पनि गर्नेछ।
यस्तै मुख्य प्रायोजक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदीप छाजेडले धारा नेपालगन्ज म्याराथन उचाई पुग्नमा सबै नेपालगन्जवासीको योगदान रहेको बताउनुभयो।
आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन(२१ किमी), १० किमी पुरुष/महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखी १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।
यसैगरी स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिने बताइएको छ । बाँके जिल्लाका हकमा कक्षा ६ देखी ८ तथा ९ देखी १२ सम्मको अलग अलग दौड(१५ किमी) सञ्चालन गरिने आयोजकले जनाएको छ ।
म्याराथनको स्टार्ट/फिनिसिङ गेट नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी रहनेछ । त्यहाँबाट सुरु भई कोहलपुर नगरपालिका देखी चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्