तपाईँ सुन्दै हुनुहुन्छः

संसद् अधिवेशनको अन्तिम दिन : दलका नेताहरूद्वारा धारणा राख्ने क्रम सकियाे

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले धारणा राख्नु भएको छ । 

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् समर्थन र विरोधको थलो मात्रै नबनाई उन्नत र परिष्कृत राजनीतिक संवादबाट संविधानले निर्दिष्ट गरेका लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्ने बहसको थलो बनाउनु पर्ने बताउनु भयो । 

उहाँले चालु अधिवेशनमा प्रतिनिधि सभाका सबै समितिले पूर्णता पाएको, विधेयकहरू समितिमा विधेयकमाथि छलफल भइरहेको, प्रधानमन्त्री र मन्त्रीहरूसँगको प्रश्नोत्तरको असल प्रयास शुरु गरेर संसदले आफ्नो प्रभावकारिता बढाउनु अधिवेशनको सकारात्मक प्रयास भएको बताउनुभयो ।

प्रमुख सचेतक रमेश लेखकले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु बनाउन नसक्दा गणतन्त्र र संविधानविरुद्ध प्रायोजित रुपमा धारणा राख्नेहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र नेपालको संविधान २०७२ ल्याउने दलहरू बेठीक भन्ने भाष्य निर्माण गर्न खोजिरहेको बताउनुभयो ।

नेकपा एमालेका सांसद विष्णु प्रसाद पौडेलले विगतको उपलब्धिको रक्षा र नेपालको सुन्दर भविष्य, संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदनको प्रभावकारिता पूर्व सर्त रहेको बताउनु भयो ।

नेता पौडेलले सदनको चालु अधिवेशन जति प्रभावकारी र उपलब्धिपूर्ण हुनु पर्ने हो त्यो हुन नसकेको भन्दै संसद् प्रभावकारी हुन नसक्नुमा सरकार सरकारको दृष्टिकोण र भूमिका जिम्मेवार रहेको बताउनुभयो । 

उहाँले सरकारले संसद्लाई प्रभावकारी बन्न नदिएको र प्रभावकारी बन्छ कि भन्ने भएमा सरकार रहेको आरोप समेत लगाउनु भयो ।  

नेकपा माओवादीका नेता वर्षमान पुनले राज्यका संरचनाहरूलाई बलियो बनाउने कुरामा सबैले एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले राज्यका संरचनालाई विधि र नियममा चल्ने संस्थागत संस्कार विकास नसक्दा समस्या भइरहेको भन्दै देश समाज, संस्कृति र भूगोल अनुसार तथ्यका आधारमा संस्कृतिलाई उन्नत बनाउँदै लैजानु पर्ने बताउनुभयो । 

उहाँले संसद्को चालु अधिवेशनले बजेट सम्बन्धी सम्पूर्ण विधेयक र मिटरव्याजी विधेयक पारित गरेको, शिक्षा विधेयकलगायत विभिन्न २२ वटा विधेयक समितिको छलफलमा रहेको भन्दै सरकारले विजनेश नदिएको भन्ने भन्दा पनि कतिपय विषयमा संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  व्यवस्था जोगाउनका लागि व्यक्तिगत स्वार्थ छोडेर देश र जनताको न्यायका लागि एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान र व्यवस्था हाम्रा नेताहरूको आफ्नै चरित्रका कारण खतरामा पर्न सक्ने भन्दै यसको रक्षाका लागि सबैको सकारात्मक पहल आवश्यक पर्ने बताउनुभयो ।

सभापति लामिछानेले संक्रमण कालिन न्यायलाई टुङ्गोमा पुर्‍याउन अव ढिलाइ गर्न नहुने र सबै दलहरू एक ठाउँमा आउनु पर्ने भन्दै आफ्नो दल सधैँ सकारात्मक रहेको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले देश आर्थिक मन्दीको अवस्थामा रहेको भन्दै मुलुकको आर्थिक स्थिति सुधारका लागि सरकारले राष्ट्रिय पहल गर्नुपर्ने बताउनुभयो ।

नेता तामाङले सदनको चालु अधिवेशनले सकारात्मक सन्देश दिन नसकेको भन्दै तराईका विभिन्न भागमा भइरहेका घटनालाई समयमा नै बुझेर सबैले सहमतिमा समस्या समाधान गर्नतिर लाग्नु पर्ने बताउनु भयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सदनको चालु अधिवेशनले पर्याप्त कानुन निर्माण गर्न नसकेको र तराई लगायतका देशका विभिन्न भागमा उठिरहेको आवाजको सम्बोधन गर्न नसकेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा समस्या र चुनौतीहरू आफ्नै कारण आएको भन्दै त्यसलाई पन्छाउने भन्दापनि पद्धति र प्रक्रिया बसाएर समस्या पहिचान गरी समाधानका निम्ति अग्रसर हुनु पर्ने बताउनुभयो ।

उहाँले मुलुकको विकास र समृद्धिका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै निर्माण गरिएका नीति र योजनाको व्यवहारतः कार्यान्वयनको खाँचो रहेको औँल्याउनुभयो ।

यसैबीच, बैठकको शुरुमा सांसदहरुले प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानलाई कृषि उपजमा उचितको मूल्यको व्यवस्था, चाडबाडको समयमा चिनी लगायतका खाद्य सामग्रीको सहजता, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

सांसदहरू किसानलाई दूधको उचित मूल्य पाउने व्यवस्था,गर्न र दूधजन्य पदार्थको उत्पादन र वितरणको प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

सांसदहरुले बजार चिनी नपाइने र अन्य सामग्रीमा धेरै नै महँगी रहेको भन्दै तिहार छठ नजिकिएकाले समयमा नै चिनीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सडक दुर्घटना अकालमा मृत्युको कारण बनिरहेको भन्दै सांसदहरूले सडक दुर्घटना न्यूनीकरणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button