नेपाल–भारत छुट्याउने सीमा स्तम्भको मर्मत शुरु

जनकपुरधाम । नेपाल भारतको सीमाना छुट्याउने दशगजामा रहेको सीमा स्तम्भको मरम्मत गर्ने अभियान मधेश प्रदेशमा आज देखि शुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नंं २ छिन्नमस्ता बाहिनीद्वारा मधेश प्रदेशको धनुषा जिल्लाको मुखीयापट्टी गाउँपालिकाको वडा नंं ६ जटहीबाट रहेको सीमा स्तम्भ नंं २८५/४ नम्बरको स्तम्भको मरम्मत तथा रङ्गरोगन गरेर अभियानको शुरुवात गरिएको छ ।
सशस्त्र प्रहरीका महोत्तरी जिल्लाको बर्दिबासमा रहेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सीमास्तम्भको मरम्मत तथा रङ्गरोगन अभियानको शुभारम्भ गर्नु भएको छ । मधेश प्रदेशमा करिब ४ हजार सीमा स्तम्भ रहेको छ भने त्यसमा मध्ये १ हजारको मरम्मत गर्नु पर्ने अवस्था रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक शाहले जानकारी दिनु भयो ।

गत वर्ष भारतले जोर नम्बरको सीमा स्तम्भकाे मरम्मत तथा रङ्गरोगन गरेकोमा बिजोर नम्बर सीमा स्तम्भको नेपालले यस वर्ष देखि मरम्मत तथा रङ्गरोगन गर्ने कामको शुरुआत गरेको छ । धनुषा जिल्लाबाट अभियानको शुरुआत भएर प्रदेशको ८ वटै जिल्लामा सञ्चालन हुने भएको छ । धनुषा जिल्लामा मात्र ४ सय ९९ वटा सीमा स्तम्भ रहेकोमा १ सय ५० वटाको मरम्मत तथा रङ्गरोगन गर्ने कार्यक्रम रहेको सशस्त्र प्रहरी धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिनुभयो ।
सीमास्तम्भको मरम्मत तथा रंङ्गरोगन कार्यक्रममा सहभागी रहनु भएका भारतका सीमा सुरक्षा बल जयनगरका डेपुटी कमाण्डेन्ट सन्तोष निमोरियाले दुई देशका बीचमा भएको सहमतिको आधारमा सीमास्तम्भहरुको मर्मत तथा रङ्गरोगन नेपालबाट शुरु भएकोमा खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रममा धनुषा जिल्लाको नगराईन नगरपालिकाका नगरप्रमुख विनय यादव तथा मुखियापट्टी गाउँपालिकाका अध्यक्ष जय कुमार यादव सहितका स्थानीय भद्र भलादमीहरूको उपस्थित रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्