तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबिच सहकार्य आवश्यक: मन्त्री शर्मा

दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दलबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरुबिच सहकार्य हुने धारणा राख्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसकाे नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको औँल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सरकारले सत्य निरुपण तथा मेल मिलाप आयाेग मार्फत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने तयारी भइरहेको बताउँदै शान्ति प्रक्रियाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरू एकमत हुनेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हलगरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले सरकारले पहिला पटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा समात्न भएको धारणा राख्नुभयो । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरूको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उहाँले सबै दलको सहमतिमा द्वन्द्वपीइलाई न्याय दिने बताउनुभयो ।

भेटमा सहिद परिवारले गाउँको बाटो घाटाे र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरूले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरू एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button