ऐतिहासिक स्थल रामग्राम स्तूपमा उत्खननका लागी जियोफिजिक्स सर्भे सुरु

नवलपरासी ।भगवान् गौतमवुद्धको अस्थिधातु रहेको पश्चिम नवलपरासीको रामग्राम ७ उजैनि स्थित रामग्राम स्तूपमा उत्खननका लागी भू-भौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) सुरु भएको छ ।
एक महिना सम्म स्तूपको उत्तर पश्चिम क्षेत्रमा सर्भे तथा उत्खननको काम हुने पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिनुभयो । सन् २०१८ मा गरिएको भू-भौतिक सर्वेक्षणका क्रममा रामग्राम स्तूप परिसरमा पोखरी र विहारको संरचना भेटिएकाले उक्त संरचनाको उत्खननका लागी काम सुरु भएको हो ।
बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संलग्नतामा सर्वेक्षणको काम सुरु भएको छ ।
प्रविधिको प्रयोग गरी मानिसको एक्स-रे गरे जस्तै गरी जमिनको स्क्यान गरेर गरिने अध्ययनले जमिनमुनि रहेको संरचनाको बारेमा जानकारी प्राप्त हुन्छ, र सोही अनुरुप संरचनाको अवस्था पत्ता लगाई उत्खनन् गर्ने गरिन्छ । रामग्राममा विगतमा पनि धेरै अध्ययन भएका छन् यो पटक त्यसलाई थप पुष्टि गर्ने गरी विज्ञको टोलीले एक महिना काम गर्छ प्रमुख पुरातत्त्व अधिकृत ज्ञवालीले भन्नुभयो ।

विगतमा महत्त्वपूर्ण संरचना भेटिएकाले त्यसलाई थप उजागर गर्न यो अध्ययन महत्त्वपूर्ण हुने ज्ञवालीले बताउनुभयो । दुरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम नेतृत्वको १० जनाको विज्ञ टोलीले सर्वेक्षण र उत्खननको काम गर्ने छ । विगतमा देखिएका संरचनाको पुणर् पहिचान गरी त्यसको सांस्कृतिक र ऐतिहासिक अवस्था बारे उजागर गर्नु नै अहिलेको सर्वेक्षणको प्रमुख उद्देश्य रहेको पुरातत्त्व विभागले जनाएको छ ।
रामग्राम स्तूप क्षेत्रमा सन् १९९९ देखि २००४ सम्म पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा चार पटकसम्म उत्खनन गरिएको थियो त्यसबेला मौर्य र गुप्तकालीन सामग्रीहरू फेला परेका थिए।
सन् २०१८ मा गरिएको सर्भेमा ठूलो बिहार, पोखरीलगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन काम सुरु भएको छ । स्तूप क्षेत्र भित्र इँटा, माटाको भाडाकुडा लगायतका जमिनको सतहमा पनि भेटिने गरेको छ तर स्तूप क्षेत्र भित्रै खनजोत पनि हुने भएकाले पुरातात्त्विक महत्वका संरचना नष्ट हुने जोखिम पनि बढेको छ ।
आज देखि सुरु भएको सर्भेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र यादव लगाएतको टोलीले निरीक्षण गरेको छ । नगर प्रमुख यादवले भविष्यमा विश्व सम्पदा सूचिमा सूचीकरणका लागी पनि यो अध्ययन महत्त्वपूर्ण हुने बताउनुभयो । जमिन भित्रका संरचना उत्खनन् गरेपछि रामग्रामको महत्त्व थप बढ्ने बताउँदै उहाँले अब लुम्बिनी विकास कोषले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
विगतमा पनि धेरै अध्ययनका काम भएको तर यस पटक उत्खनन गर्ने गरी सुरु भएको अध्ययन धेरै महत्त्वपूर्ण रहेको उहाँको भनाई छ । बुद्धकालीन क्षेत्रहरू अन्तर्गत लुम्बिनी विकास कोष अन्तर्गत रहेको रामग्राम स्तूपको संरक्षण र विकास हुन नसक्दा स्तूप क्षेत्र ओझेलमा पर्दे आएको छ । रामग्राम स्तूप शान्तिका अग्रदूत गौतम बुद्धको एक मात्र सिङ्गो अस्तु धातु रहेको स्थान हो ।
स्तुपाको बिकास प्रवर्द्धन र विकासका लागि नगरपालिकाले सक्दो पहल गरिरहेको नगरप्रमुख धनपत यादवले बताउनु भयो ।केही दिन अघि मात्र लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले स्तूपको अवलोकन गरी यसको संरक्षण र विकासका बारेमा रामग्राम नगरपालिकासँग छलफल गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्