तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा पहिलोपटक गैरआवासीय नेपाली नागरिकता वितरण

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पहिलो पटक गैरआवासीय नेपाली नागरिकता वितरण गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले पहिलो पटक दुईजनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नु भएको हो । 

प्रजिअ सेडाईले हेटौँडा–११ की सन्जिता बिडारी र हेटौँडा–५ का श्रीकृष्ण थापालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नुभएको हो । १५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दे आउनु भएका थापा र बिडारी श्रीमान्/श्रीमती हुनुहुन्छ । थापा दम्पतीले मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नु भएको हो । नागरिकता प्राप्त गरेपछि उहाँहरूले देश र जनताको नाममा शपथ लिनुभएको थियो ।  

पुनः नेपाली नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै थापाले देश प्रतिको माया अझै बढेको बताउनुभयो । आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको भन्दै थापाले देशलाई आर्थिक रुपमा सहयोग पुग्ने बताउनुभयो । यसअघि असोज ३० गते मङ्गलवार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नेपाली नागरिकता दिँदै अभियानको सुरुवात गर्नुभएको थियो । गत जेठमा नागरिकता सम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button