मुख्यमन्त्री कोहलपुर गोल्डकप सुरु, लुम्बिनी प्रदेशलाई खेलकुदको हब बनाउने मुख्यमन्त्री चौधरीको प्रतिबद्धता ।

बाँके । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको पहिलो प्राथमिकतामा खेलकुद रहेको बताउनु भएको छ। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमा झैँ समूहगत एकताबाट मात्रै देश बिकास हुने बताउनुभएको छ ।
बाँकेको कोहलपुर स्थित तेह्र बिघा खेल मैदानमा बुधबार मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले एउटा जातीले अर्को जातीको सस कृती,चालचलनको सम्मान गर्नुपर्ने बताउनुभयो।
मुख्यमन्त्री चौधरीले खेलकुदबाट हामी सबैले जातजातिबिच विभाजन नभई एकता सिक्न आवश्यक भएको बताउनुभयो ।
उहाँले कोहलपुरमा हुने गोल्डकपलाई आगामी वर्षदेखि नियमित कार्यक्रममा समावेश गरिने र रातो किताबमै समावेश गरिने बताउनुभयो । स्थानीय तहबाट आउने हरेक सकारात्मक योजनामा प्रदेशको साथ रहने प्रतिबद्धता समेत गर्नुभयो।
कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशलाई विश्वभरि पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले खेलकुदले मानिसलाई अनुशासित, स्वस्थ राख्न मद्दत गर्ने बताउनुभयो।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रसाद भट्टराईले प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्ने यहाँको खेल मैदानलाई व्यवस्थापन गर्न आर्थिक सहयोग गर्ने बताउनु भयो।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले आफु खेलकुदको समग्र विकासको लागि निरन्तर लागिरहेको र यस तेह्र बिगाहा खेलमैदानको प्याराफिटको लागि बजेट विनियोजन गरेको बताउनु भयो।
आयोजक कोहलपुर रेसिङ सहारा क्लब अध्यक्ष चक्र क्षेत्रीका अनुसार प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका चर्च व्वाईज यूनाईटेड काठमाडौँ, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफी प्रदान गरिने छ । करिब ८० लाख रुपियाँ लागत अनुमान गरिएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।भने आजको उद्घाटन सत्रको खेल आयोजक टिम कोहलपुर रेसिङ साहारा क्लब र चर्च व्वाईज यूनाईटेड काठमाडौँ बिच भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्