पहिलोपटक लुम्बिनी सरकारले मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन गर्दै

बाँके । लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवद्र्धन गर्न लिएको लक्ष्य अनुरुप पहिलोपटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन सुरु हुने भएको छ । प्रदेश सरकारले बाँकेको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन सम्बन्धी कार्यक्रमको आयोजना गर्ने भएको हो ।
राप्ती सोनारी गाउँपालिका र पर्यटन डिभिजन कार्यालय बाँकेले पालिकाको कार्यालयमा बैठक बसेर आर्थिक वर्ष २०८०(८१ को वार्षिक स्वीकृत कार्यक्रम ‘मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन’ सञ्चालन गर्ने निर्णय गरेका छन् । पर्यटन डिभिजन कार्यालय प्रमुख दिनेश अधिकारी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालगायत राप्ती सोनारीका विभिन्न वडाका वडाध्यक्षको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।
निर्णय अनुसार मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण राप्ती सोनारीको वडा नम्बर ३ र ४ बाट सञ्चालन गर्ने निर्णय भएको पालिकाका अध्यक्ष पौडेलले बताउनुभएको छ । पौडेलका अनुसार स्थानीय उत्पादनबाट बनाइएको मदिरालाई ‘ब्रान्डिङ’गर्न सके रोजगारीदेखि आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।
पर्यटन डिभिजन कार्यालय प्रमुख अधिकारीले लुम्बिनी प्रदेशका अन्य स्थानभन्दा राप्ती सोनारीका सामुदायिक बनहरूमा बढी मौवा उत्पादन हुने भएका कारण राप्ती सोनारीलाई छनौट गरिएको बताउनुभयो। उहाँले मौवाको स्थानीय मदिरा उत्पादनका लागि दुईवटा वडाका ३० घरहरू छनौट गरिने बताउनुभयो ।
उहाँले यो परीक्षण काल हो अब हामी शुक्रबार जान्छौँ र ३० घरधुरी छनौट गरेर उहाँहरूलाई मदिरा उत्पादन गर्न आवश्यक सामग्री खरिद गर्नेछौँ । छनौट भएका घरधुरी सबैलाई एकै पटक नभएर फरक फरक समयमा मदिरा उत्पादन गर्न दिन्छौँ र उहाँहरूले उत्पादन गरेका मदिरा पनि फरक फरक बोतलमा राख्छौँ,’ अधिकारीले भन्नुभयो। अधिकारीका अनुसार मौवाको स्थानीय उत्पादन परीक्षणका लागि परामर्श दातासमेत राखिने छ भने आवश्यकता अनुसार गुणस्तर नापतौलसँग पनि समन्वय रहनेछ ।
पर्यटन डिभिजनको मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण कार्यक्रममा हाल राप्ती सोनारी गाउँपालिकाले समन्वयको भूमिका निभाएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्नका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्येबाट पर्यटन विभागले राप्ती सोनारीमा मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण गर्न लागको हो ।








प्रतिक्रिया राख्नुहोस्