जीविकोपार्जनका लागि भेडापालनः चरनक्षेत्रमा चर्दै गरेका भेडाबाख्रा (फोटोफिचर)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडा गोठालाहरूले भेडाबाख्रा चराउने गर्छन् ।
रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरू हिउँदमा बेसी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत २५ वर्षदेखि रघुगंगा–२, धुपीचौरका टेक परियारले भेडापालन गर्दै आउनुभएको छ । भेडापालन गर्दा चाडपर्व र आफन्तसँग भेटघाट रमाइलो गर्न नपाई भेडाको गोठालो भएर निरन्तर हिँड्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँको गोठमा ५० वटा भेडा छन् । वर्षको ८ देखि १० भेडा बेचेर दुई देखि तीन लाख रुपैयाँ आम्दानी गर्ने बताउनुभयो । देउराली भेडा फार्ममार्फत भेडापालन गरेका टेक परियारले गत आर्थिक वर्षमा रघुगंगा गाउँपालिकाबाट उत्कृष्ट किसानको पुरस्कार पाउनुभएको थियो । सानो गोठ भएकोले हिउँद बर्खायाममा रुईसेको पाखो र वनमा चराउँदै आएको बताउनुभयो ।
त्यस्तै उहाँको भाई गोपी परियारले विगत ६ वर्षदेखि जीविकोपार्जनका लागि भेडापालन गर्दै आउनुभएको छ । उहाँको गोठमा ३५ वटा भेडाबाख्रा छन् । अन्य पेशा भन्दा भेडा पालनबाट जीविकोपार्जन गर्न सहज भएको अनुभव गोपी परियारले सुनाउनुभयो । “अन्य पेसाभन्दा बढी भेडा चराउनमा खट्नुपर्छ, चाडपर्व, झरी बर्खा नभनी रुईसेमा दिनदिनै चराउन ल्याउनुपर्छ, दुख अनुसारको आम्दानी हुन सकेको छैन, आम्दानी वृद्धि गर्न सङ्ख्या वृद्धि गर्नुपर्छ, यसका लागि लगानीको अभाव भएको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै धुपीचौरका अर्का गोपाल परियारले पनि विगत ७ वर्षदेखि भेडापालन गर्दै आउनुभएको छ । उहाँको गोठमा २५ वटा भेडाबाख्रा रहेका छन् । उहाँकी श्रीमती उमा परियारले भेडाबाख्रालाई रुईसेको पाखोमा लैजाने र घरमा ल्याउने काम गर्नुहुन्छ । भेडाबाख्रा पालनबाट घरखर्च चलाउन सहयोग पुगेको उमा परियारले बताउनुभयो ।
रुईसे–भेडिओढारमा ठुला २ वटा र साना ३ वटा भेडाबाख्राका फार्महरू छन् । चरनक्षेत्रमा रुख बिरुवा फैलँदै जाँदा गाईभैसी र भेडाबाख्राले खाने घाँसको अभाव बढ्दै गएको छ । भेडाबाख्राका गोठहरू पर्यटकको आकर्षणमा पर्ने गर्छन् । यहाँ आउने पर्यटकले भेडाका पाठापाठीसंग फोटो खिच्ने र रमाउने गरेको रुईसेमा विगत २५ वर्षदेखि भेडापालन गर्दै आउनुभएका कृषक टेक परियारले बताउनुभयो ।





















प्रतिक्रिया राख्नुहोस्