तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घका महासचिव गुटेरेसको सिंहदरबारमा उच्चस्तरीय भेटवार्ता (तस्बिरहरू)

काठमाडौँ । नेपाल भ्रमणको पहिलो दिन आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।

महासचिव गुटेरेसले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

महासचिव गुटेरेसलाई सिंहदरबारमा मुख्य सचिव डाक्टर बैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरत पौडेलले स्वागत गर्नुभएको थियो ।

यसैगरी महासचिव गुटेरेस र उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । महासचिव गुटेरेस रक्षा मन्त्रालय पुग्नुहुँदा उहाँलाई मन्त्रालयका सचिव किरणराज शर्माले स्वागत गर्नुभएको थियो ।

महासचिव गुटेरेस र परराष्ट्रमन्त्री एन पी साउदबीच आजै भेटवार्ता भएको छ । महासचिव गुटेरेसलाई परराष्ट्र मन्त्रालयमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले स्वागत गर्नुभएको थियो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेटवार्ता हुँदैछ ।

महासचिव गुटेरेसले अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपति पौडेलसँगको भेटपछि महासचिव गुटेरेस सम्पदा क्षेत्र पाटन जानु भई अवलोकन गर्नु हुने कार्यक्रम छ ।

महासचिवको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आज रात्रि भोज दिनुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button