तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घका महासचिव गुटेरेस भोलि पोखरा आउनुहुने, अन्नपूर्ण आधार शिविर भ्रमण गर्ने तयारी 

पोखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस भोलि(सोमबार) पोखरा आउनु हुने भएको छ । नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउनु भएको महासचिव गुटेरेस सोमबार दिउँसो हवाई मार्ग हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी पोखरा लेकसाइड स्थित फिस्टेल लजमा एक रात बस्नु हुने भएको छ । 

उहाँलाई पोखराका पर्यटन व्यवसायी सहितका विभिन्न संघ संस्थाहरूले स्वागत गर्ने तयारी गर्नु भएको छ । सोमबार दिउँसो १ः२० बजे काठमाडौँबाट हवाई मार्ग हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १ः५० बजे आउने कार्यक्रम तालिका रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो । उहाँका अनुसार सोमबार महासचिव गुटेरेस फिस्टेल लजमा १ः५५ बजे पुगेसँगै खाना सहित एक रात उहाँ उक्त लजमै बस्नु हुने भएको हो । 

मङ्गलवार बिहान महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर अवलोकन गर्न जानु हुने भएको हो । नेपाली सेनाको हेलिकोप्टर मार्फत बिहान ६ः३० बजे अन्नपूर्ण आधार शिविर (एबीसी) प्रस्थान गर्नु हुने भएको छ भने २० मिनेटको यात्रामा एबीसी पुगेसँगै उहाँले करिब एबीसीमा ४० मिनेट अध्ययन अवलोकन गर्ने समय तालिका सार्वजनिक गरिएको छ । सोमबार बिहान ७ः५० एबीसीबाट उडान गरी ७ः५० बजे पोखरा विमानस्थलमा अवतरण गर्ने समय तालिका तय गरिएको छ भने त्यस पछि बिहान ८ः१५ बजे भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तर्फ प्रस्थान गर्नु हुने भएको छ । उहाँ करिब २० मिनेटको यात्रामा भैरहवा पुग्नु हुने भएको छ । 

महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो । राष्ट्रसङ्घका महासचिवको करिब डेढ दशक पछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । उहाँको भ्रमणको क्रममा शान्ति प्रक्रिया, नेपालको दिगो विकास, जलवायु परिवर्तन, कोरोनाबाट प्रभावित भएको अर्थतन्त्र लगायतको विषयमा समेत छलफल हुने भएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button