विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रमा साँढे ४३ करोड बक्यौता, विशेष अभियान सञ्चालन गर्दै
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले साढे ४३ करोड रुपैयाँ बढी विद्युत् महसुलको बक्यौता रहेको जनाएको छ। सडक बत्ती, कालोसूचीमा परेका, सरकारले उद्योगलाई दिएको छुट, उद्योग, पार्टी कार्यालय लगायतबाट ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेको हो। बक्यौता उठाउन र ६० दिनभन्दा बढी समय महशुल नतिर्ने ग्राहकको लाइन काट्ने विशेष अभियान आजबाट शुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
वितरण केन्द्रका अनुसार ६० दिनभन्दा बढी समय नाघेका ग्राहकको मात्रै ३५ करोड ४१ लाख ५३ हजार १६५ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ। दुई वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको तथ्याङ्क छ ।
दुई महिनादेखि छ महिनासम्मको चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको दुई करोड आठ लाख २८ हजार, १२ महिनादेखि २४ महिनासम्मको तीन करोड २९ लाख, ५८ हजार रुपैयाँ उठ्न बाँकी रहेको वितरण केन्द्रका प्रमुख इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कोरोना भाइरसको महामारीको चपेटामा परेका उद्योगहरूलाई सरकारले दिने भनेको विद्युत् महशुल रकमको छुट प्राधिकरणलाई अझै तिरेका छैनन्। दुई वर्षभन्दा बढीको १३ करोड ८७ लाख १६ हजार रुपैयाँ प्राधिकरणलाई कतिपय सरकारी संस्थाले दिन बाँकी रहेको पौडेलको भनाई छ । भरतपुरका सिँचाइ, सडक बत्तीको पनि बक्यौता उठ्न बाँकी छ । भरतपुर महानगरपालिकाले पनि सडक बत्तिको रकम नियमित तिरेको छैन। सडक बत्तिको मात्रै १२ करोड छ हजार रुपैयाँ विद्युत् महशुल तिर्न बाँकी रहेको प्राधिकरणको तथ्याङ्कमा छ । कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख रुपैयाँ उठ्न बाँकी छ। कालोसूचीमा दुई सय ६७ जना ग्राहक परेका छन्।
घरायसी बिजुलीको आठ करोड ६८ लाख १९ हजार, संस्थागत ७७ लाख १५ हजार, व्यवसायी तीन करोड ११ लाख आठ हजार, सामाजिक संस्थाहरूको एक करोड १५ लाख दश हजार बक्यौता रहेको वितरण केन्द्रले जानकारी दिएको छ ।
मनोरञ्जन क्षेत्रको पाँच लाख ६९ हजार छ सय ६७, औद्योगिक क्षेत्रको दुई करोड ९२ लाख ४१ हजार, खानेपानीको तीन लाख ४० हजार, अस्थायी, यातायात क्षेत्रको २० लाख, धार्मिक संघ संस्था र सामाजिक संघ संस्था, राजनीतिक संस्था लगायतले पनि तिर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
उद्योग र व्यावसायिक प्रतिष्ठानले पनि तिरेनन् महशुल
जिल्लाका कतिपय उद्योग र व्यावसायिक प्रतिष्ठानले पनि नियमित रुपमा विद्युत् महसुल तिरेका छैनन्। सबैभन्दा धेरै इको पोलोमरले नौ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ। यो रकम उद्योगको चार महिनाको बक्यौता हो। अनमोल फिड्सले छ महिनादेखि तिरेको छैन। फिड्सको आठ लाख ३० हजार रुपैयाँ तिर्न बाँकी छ। शक्ति प्लाष्टिक उद्योगले सात महिनाको छ लाख १३ हजार, डेलिमा केटारले छ महिनाको चार लाख ७९ हजार, लेक ट्वान्टी फार्म र एण्ड रिसोर्टले चार महिनाको चार लाख ५२ हजार, इनर्जि फुडले १२ महिनाको चार लाख २२ हजार, फोर सिजन रेस्टुरेन्टले पाँच महिनाको ३ लाख ७९ हजार, लाइम एण्ड लेमन क्याफेले चार महिनाको तीन लाख ५८ हजार रुपैयाँ नतिरेको पौडेलले बताउनु भयो ।
बक्यौता रकम बढी हुन थालेपछि दुई महिनाभन्दा बढी समयदेखि विद्युत् महशुल नतिरेका ग्राहकहरूको लाइन काट्ने तयारी गरिएको छ। अभियान नै सञ्चालन गरेर दुई महिनादेखि विद्युत् महशुल नतिरेका ग्राहकको आज आइतबार देखि विद्युत् लाइन काट्न लागेको केन्द्रका इन्जिनियर पौडेलले जानकारी दिनुभयो। ‘दुई महिनादेखि नतिर्ने ग्राहकको लाइन काट्दैछौं, उहाँले भन्नुभयो , ६ महिना भन्दा बढी समय नतिर्नेलाई कालोसूचीमा राख्दैछौं ।‘
हालसम्म केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। जसबाट ७३ लाख तीन हजार रुपैयाँ रकम उठ्न बाँकी छ। हालसम्म घरायसी बिजुलीका दुई सय १४ ग्राहक कालोसूचीमा परेको उहाँले जानकारी दिनुभयो । ३९ वटा उद्योग, छ वटा संस्थागत, तीन वटा वाटर सप्लाइ कम्पनीलाई कालोसूचीमा राखिएको छ।








प्रतिक्रिया राख्नुहोस्