तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

काठमाडौँ । नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरू सहभागी हुनुभएको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल लगायतका नेता सहभागी हुनुभएको छ । सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरूप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो,“ हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।” 

काँग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । काँग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । 

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि काँग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button