तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : आचार्य बालकृष्ण

लुम्बिनी । भारतको प्रसिद्ध पतञ्जलि योग पीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताउनुभएको छ ।

पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुग्नुभएका उहाँले नेपालका कुनै पनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच भएको, दुई देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरूप्रति भारतीयको आस्था र आकर्षण दुवै बढी रहेको बताउनुभयो ।

रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर जोड्ने लुम्बिनी केबलकारमार्फत वसन्तपुर पुग्नुभएका उहाँले त्यहाँस्थित कामाख्या भगवतीको पूजाअर्चना गर्नुभएको थियो । पूजाआजापछि नेपाल र भारतका पत्रकारसँगको अन्तरक्रियामा उहाँले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज र उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो ।

उहाँले नेपाल गौतमबुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मीकि ऋषि लगायतको पावन भूमि रहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा रहेको अद्वितीय पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर भारतीय पर्यटकलाई यहाँ ल्याउने गरी नेपाल सरकारले कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले धार्मिक पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर नेपालमा पनि धार्मिक पर्यटकीय सर्किट बनाइ दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धनको पहल गर्न सुझाव दिनुभयो ।

केबलकारको टप स्टेशन वसन्तपुरमा निर्माण गरिएको कामाख्या भगवती मन्दिर, यहाँको प्राकृतिक सौन्दर्य तथा तराईको गर्मीमा पनि वसन्तपुरमा पाइने शीतल वातावरण भारतीय पर्यटकको प्रमुख आकर्षण रहेका उहाँको भनाइ थियो । आयुर्वेद शिरोमणि आचार्यले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके पर्यटक आगमन बढ्न सक्ने बताउनुभयो ।

उहाँले ४० वर्षपछि पहिलो पटक गृहजिल्ला स्याङ्जामा दसैँ पर्व मनाउने अवसर मिलेको बताउँदै दसैँ या अरू चाडपर्वका अवसरमा आफन्त परिवार समक्ष पुग्ने परम्परा सनातन संस्कृति र वैदिक परम्पराको राम्रो संस्कार रहेको बताउनुभयो ।

सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतका नागरिकलाई लक्षित गरेर वसन्तपुरमा पाँचतारे होटेल निर्माणाधीन रहेको जानकारी दिनुभयो । सो होटेलसहित केबलकारमा रु पाँच अर्ब लगानी हुने जानकारी पनि उहाँले दिनुभयो ।

सञ्चालनको पाँच महिनामै वसन्तपुरको कामाख्यादेवी मन्दिर भारतको उत्तर प्रदेशका पर्यटकको लागि आकर्षक धार्मिक गन्तव्य बनिसकेको र यहाँ आएका भारतीय पर्यटकलाई नेपालका अरू धार्मिक गन्तव्यमा पुर्‍याउन सकिने गरी केबलकार सर्किट निर्माण गरी प्रचारप्रसारको काम थालिने निर्देशक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button