तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा सवारी दुर्घटना हुँदा १८ जना घाइते

धादिङ । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौँ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६-प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौँतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो ।

दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिनुभयो ।

सामान्य घाइतेहरूको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौँ पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथो हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौँतर्फ जाँदै गरेको बा४ख ४१७७ नंको माइक्रो बस र काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नंको कार आपसमा ठोक्किँदा एक जना घाइते भएका थिए ।

त्यस्तै, बेनीघाट रोराङ–३ शीतल बजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीन जना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button