पोखरामा नेपालकै पहिलो मोटर बाइक रेसको तयारी
पोखरा । पर्यटन र खेलकुदको शहर पोखरामा नेपालकै पहिलो तथा ठूलो मोटर बाइक रेस ‘फिस्टेल रेसिङ कप २०२३’ हुने तयारी गरिएको छ ।
नेपालको मोटर स्पोर्टस संस्था (नासा) सँग आबद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालीले उक्त प्रतियोगिता पोखरामा मङ्सिरको दोस्रो साता गर्ने तयारी गरेको हो ।

आउँदो मङ्सिर ८ र ९ गते पोखरा रंगशाला भित्र आयोजना हुने उक्त खुल्ला प्रतियोगितामा देशै भरीबाट करिब १ सय भन्दा बढी प्रतियोगीहरूको सहभागिता हुने भएको इटालियन रेसिङ टिमको नेपाल शाखाको रुपमा रहेको भिआर–४६ मोटर स्पोर्टसका प्रबन्ध निर्देशक माइकल थापाले बताउनुभयो ।
उक्त प्रतियोगिता नेपालकै पहिलो तथा ठूलो बाइक रेस भएको दाबी गर्दै थापाले प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटन सहित साहसिक खेलको समेत प्रवर्द्धन गर्ने बताउनुभयो ।

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरेको रुचिको विषय समेत भएकोले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक थापाको भनाई छ । कार्यक्रममा करिब १ हजार जना दर्शक भित्राउने लक्ष्य राखेको प्रबन्ध निर्देशक थापाले बताउनुभयो ।
गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरूलाई दोस्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको बताउँदै प्रबन्ध निर्देशक थापाले आफ्नो संस्थाले विगतमा रोड सेप्टीका विषयमा समेत धेरै युवा, विद्यार्थी, महिलाहरूलाई प्रशिक्षण प्रदान गरेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख दोस्रो हुने प्रतियोगीलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिने भएको छ । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसको अवसर समेत प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारण तर्फ २ सय र भिआइपीतर्फ १ देखि ५ हजार सम्मको टिकट बिक्री गरिने प्रबन्ध निर्देशक थापाले जनाउनुभयो । नेपाली बाइक रेसको इतिहास टिकटको व्यवस्था समेत पहिलो हो ।
प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरि दुई प्रकारका बाइकहरूको प्रयोग गरिने भएको छ भने जिल्ला खेलकुद विकास समिति कास्कीमा स्वीकृति लिएर आयोजित उक्त बाइक रेस पोखरा रंगशाला भित्र रहेको कालोपत्रे सडक भित्र सञ्चालन गरिने छ । सन २००८ साल देखि नेपालमा रेसिङ सुरु भएको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्