प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभई कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा राणाले जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताउनुभयो ।
नेपाली काँग्रेसकी नेतृ डा राणाले नेपालको वन वनस्पति, कृषि, प्रकृति, हिमाल लगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै सभापति डा राणाले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ्य उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
नेपाल जैविक विविधतामा विश्वमा २७ औँ र एसियामा १० औँ स्थानमा रहेको छ । हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पति र जीवहरू छन् । जुन विश्वमा उपलब्ध जैविक विविधताको एक दशमलव तीन प्रतिशत हिस्सा हो ।
अव्यवस्थित योजना निर्माण, विकास आयोजनाहरूको कमजोर कार्यान्वयन, दिगोपना रहितको मानवीय गतिविधि लगायतका कारणले नेपालले अहिले विश्वव्यापी उष्णताको समस्या झेलिरहेको र नेपालमा अहिले पनि वन विनाशले कृषि लगायतका क्षेत्रमा असर परेको उहाँको भनाइ छ । उहाँले वन, जमिन, पानी र वायुका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले विकास तथा प्रकृति संरक्षणका क्षेत्रमा एकीकृत, समावेशी र समन्वयात्मक कार्यक्रम सञ्चालन गरी जलवायु परिवर्तनका कारण परेको प्रभावको अनुसन्धान र यसको हानी न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अपनाउन नेपाल सरकारलाई सुझाव पनि दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्