तपाईँ सुन्दै हुनुहुन्छः

देवदहमा अन्तर्राष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण हुने

भैरहवा । रुपन्देही जिल्लाको देवदह नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका–८ विशाल नगर (टटेरा)मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिगाहा सरकारी जमिन (वन क्षेत्र) मध्ये ५ बिगाहा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्र लगायतका संरचना निर्माण गरिने छ ।

धम्म ग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित बुधबार ध्यान केन्द्र निर्माण स्थलमा आयोजित कार्यक्रममा सुख शान्ति विहार शंकरनगरका भन्ते, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, साधक गोपाल पोखरेल, डा. खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडे लगायतले बौद्ध विधि र संस्कार अनुसार विपश्यना ध्यान केन्द्रको शिलान्यास गर्नुभएको हो । केन्द्रका पुराना साधक साधिका (१० दिने शिविरमा बसेका)हरुको स्वतःस्फूर्त दान सहयोगबाट ध्यान केन्द्रको निर्माण गरिने छ । गुरुयोजना अनुसार पहिलो चरणमा धम्म हल(ध्यान केन्द्र), आचार्य निवास, महिला र पुरुष (साधक साधिका)का लागि आवासीय सुविधा सहितका दुइवटा भवन, भान्सा र स्नान घर निर्माण गरिने छ । शिलान्याश कार्यक्रम पूर्व निर्माण स्थलमा साधक साधिकाहरूका लागि करिब २ घण्टाको ध्यान शिविर सञ्चालन गरिएको थियो ।

ध्यान केन्द्रको निर्माण पश्चात् देश विदेशका साधक साधिकाहरूले ध्यान, साधना, योग तथा अध्ययन अनुसन्धान गर्नुका साथै धम्म हलमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने छ । विपश्यना ध्यान शिविर सञ्चालनका लागि पनि कसैसँग शुल्क लिइँदैन । शिविरको सञ्चालन साधकको स्वैच्छिक दानबाट गरिन्छ । कसैसँग पनि शुल्क लिइँदैन भने धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाहरूले समेत पारिश्रमिक लिँदैनन् । जुन वस्तु जस्तो छ त्यसलाई त्यही रूपमा जान्नु, बुझ्नु नै विपश्यनाको वास्तविक अर्थ हो । विपश्यना एक ध्यान विधि भएकाले 

यसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ । शिलान्यास कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले लोप हुँदै गएका संस्कृति र सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई ध्यान, साधना तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरी देवदहको अलग्गै पहिचान स्थापित गर्ने गरी काम भइरहेको बताउनु भयो ।

साधक गोपाल पोखरेलले यो क्षेत्रलाई धम्म ग्राम र अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनु भयो । आजभन्दा लगभग २५–२६ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराउनुभएको विपश्यना ध्यान प्रति मानिसहरूको आकर्षण बढेको भन्दै साधक पोखरेलले ध्यान केन्द्रको निर्माण पछि नयाँ साधकहरू बढ्ने विश्वास ब्यक्त गर्नुभयो । 

विपश्यना भनेको राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो साधक डा. खडानन्द पौडेलले बताउनु भयो । विपश्यना दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो, डा. पौडेलले भन्नुभयो–‘यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ ।’यो साधना विधि दुःखबाट मुक्त हुने सक्षम उपाय भएकाले हिन्दू, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्ने साधक मेघराज ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button