तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्कसँग चाडपर्व मनाउन सद्भाव समिति बाँकेको अपिल

बाँके । सद्भाव समिति बाँकेले नजिकिँदै गरेका आ–आफ्ना समुदायका चाडपर्वहरू ढुक्क भएर मनाउन अपिल गर्दै आउँदै गरेको आसन्न नवरात्री, बडादसैँ, दीपावली, छठजस्ता महान् राष्ट्रिय पर्वको अवसरमा सम्पूर्ण धर्मावलम्बी समुदायप्रति शुभकामना समेत प्रकट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सुरक्षा समितिका पदाधिकारीसहितको सद्भाव समितिको बैठकले बाँकेवासीलाई निश्चिन्त र ढुक्क भएर आफ्नो समुदायको चाडपर्वहरू भव्यसाथ मनाउन सामूहिक अपिल गरिएको प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रसिद्ध बागेश्वरी मन्दिरका मुल महन्त राजगुरु चन्द्रनाथ योगी, मौलाना अब्दुल जब्बार मन्जरी, मौलाना अब्दुल मंसुर, इशाइ धर्मगुरु डम्बरबहादुर थापा, शिख गुरु राजेन्द्र शिख, सामाजिक सद्भाव समितिका संयोजक दिपक लोध (हिन्दुतर्फ) र फिरोज वारसी (मुस्लिमतर्फ), मुस्लिम समाज अभियन्ता हारुन हलुवाइ समेतको उपस्थितिमा बसेको बैठकले सामूहिक अपिल जारी गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

बैठक पश्चात् जारी गरिएको अपिलमा ‘बाँके जिल्ला बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त जिल्लामात्र नभई परम्परादेखि नै बीचका एकता, सद्भाव, ऐक्यबद्धता, सहिष्णुता, सांस्कृतिक प्रवर्धनजस्ता विशिष्ट गुणहरुले ओतप्रोत भएको, आपसी विश्वास, भाइचारा र सद्भावले एकताबद्ध गरेको जिल्ला रहेको जगजाहेर नै छ’ भनिएको छ ।

विगतमा नेपालगञ्ज सद्भावको सहरको रुपमा समेत स्थापित भैसकेको छ । हामी सबैको साझा प्रयासले यस जिल्लाको शान्ति, सुव्यवस्था र सद्भाव प्रवर्धन भएको पृष्ठभूमिमा आगामी दिनमा पनि विभिन्न समुदायको सामाजिक–सांस्कृतिक पर्वप्रति हामी सबै समुदाय सम्मान र ऐक्यबद्धता प्रकट गर्दछौँ’ अपिलमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button