“उड्दैन चङ्गा, कुट्दैन ढिकी, हरायो रातोमाटो र कमेरो”

मकवानपुर । “अहिलेको दशैं के दशैं ? अहिलेका केटाकेटीहरूलाई मोबाइल, पैसा भए सबै पुग्ने, संस्कृति संस्कार केही छैन ।” चौतारामा बसेका एक वृद्ध बा यसै भन्दै फतफताउँदै हुनुहुन्थ्यो । यस्तो सुनेपछि मलाई पनि चाख लाग्यो नजिकै गएर ती बासँग कुरा कोट्याउन थाले । उहाँले म पत्रकार भन्ने थाहा थियो, बाबु तपाइहरूले केही गर्नुपर्यो नत्र त संस्कृति परम्परा नै मासिने पो भयो । उहाँको कुराले मलाई कता कता सोच्न बाध्य बनायो र उहाँसँग गफिन थालेँ ।
बा पहिलेको दशैं र अहिलेको दशैंमा के फरक छ र भन्दै प्रश्न गरेँ । उहाँले त्यस्तो होइन बाबु पहिलेको दशैंमा चङ्गा चेट हुन्थ्यो, पिङ खेलिन्थ्यो, ढिकीमा कुटेको चिउरा आहा कति मिठो, रातोमाटो र कमेरोले पोतेको घर, दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर रमाइलो गरिन्थ्यो, अहिले खोइ सबै हराउँदै गयो । उहाँले भन्नुभयो । विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम नै छुट्टै हुन्थ्यो अहिले दशैं आउँछ जान्छ मात्र भएको छ ।
“चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पु¥याउने भन्दै आकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो, अहिले त चङ्गा उडाउने गरेको देखिनै छोड्यो’, उहाँले खिन्न हुँदै भन्नुभयो । खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । अहिलेका नयाँ पुस्तामाझ दसैँमा चङ्गा उडाउने संस्कृतिबारे जानकारी नै छैन । खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । यसले मनोरञ्जन मात्रै नभई परिवारमा खुसी, साथीभाइबिचको सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्थ्यो । हिजोआज त बढ्दो सूचना प्रविधिको विकासले यस्ता पुराना संस्कृति लोप होला जस्तो छ ।”
हाम्रा पालमा दशैमा सिङ्गै गाऊ रात भरि चिउरा ढिकीमा कुटेको भक्राङच्याङ भक्राङच्याङ आवाज र भुटेको धानको गाउँभरि फैलिएको सुगन्ध, डाँडामा थापेको लिङ्गे पिङमा मच्चिँदाको मज्जा, रातोमाटो र कमेरो माटोले घर पोतेर चिटिक्क अहिले ती सबै हराए । उ बेला दशैं केबल दशै मात्र थिएन, बर्ष भरिको उत्साह र उमङ्गको सम्मिश्रण थियो । चाडवाड बाहेक मनोरञ्जन गर्ने अरू साधनहरू केही पनि थिएनन् ।
टाट्नामा बाँधेको बोका खसी, कोठेबारीमा पसाएको केराको घरी र आँगनको डिलमा फूलेको गोदावरी, सयपत्री र मखमलीलाई परिवारका सबै सदस्यहरु मिलेर स्याहार सुसार गरिन्थ्यो । दसैँलाई भनि चामल, खसी, कुखुरा, राँगा, फूलपाती र फलफूल लगायतका सामाग्री आफैँले आफ्नै बारीमा उत्पादन गरिन्थ्यो । तर, अहिले हरेक सामानहरू बजारबाट खरिद गर्न पाइन्छ । त्यो बेलाको जस्तो चाडबाडप्रतिको उमङ्ग र जोस जाँगर पनि अहिलेको पुस्तामा छैन । उहाँले भन्नुभयो ।
उ बेलाको दशैं सम्झँदै उहाँले नयाँ जामा लाउने, मिठो परिकार खाने अनि दक्षिणा कति हात पर्ला भन्ने कुरा बढी प्राथमिकता पर्ने गरेको तर, तर दशैंको रातभर चिउरा कुट्ने, कमेरो माटो लगायत कामको चटारो सम्झँदा दशैं किन आउँछ वर्षैपिच्छे जस्तो पनि लाग्ने गर्थ्यो । त्यसो हुँदा पनि सबै जम्मा हुने बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ । उहाँले भन्नुभयो । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थाले ।
पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर बिस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन् । यसले ग्रामीण क्षेत्रको मौलिकता समेत हराउँदै गएको उहाँले सुनाउनुभयो । गाउँमा मौलिक घर विस्थापित हुन थालेको प्रति उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो ।
“आजभोलिको दसैँ पहिलेको जस्तो रमाइलो नै हुँदैन, हाम्रो पालामा नवदुर्गा सुरु भएपछि गाउँमा निकै चहलपहल हुन्थ्यो, रातोमाटो र कमेरोले घर लिप्ने गरिन्थ्यो, घरलाई झकिझकाउ बनाउन, टाढा–टाढा पुगेर रातोमाटो, कमेरो ल्याइन्थ्यो, बर्खाले बिगारेको बाटाघाटा झारा गरेर मर्मत गर्ने गरिन्थ्यो, तर अहिले त्यो चलन पूरै हरायो”, उहाँले भन्नुभयो, “आजकाल त बजारबाट रङ किनेर ल्याएर घरमा लगाउने गर्छन्, अहिलेको रङभन्दा उतिबेलाको माटो र गोबरले लिप्दा घर बलियो हुन्थ्यो, मान्छेले आफ्नो परम्परा बिर्सिए, अरूको संस्कार सिके ।” हिन्दू धर्मसँग सयौँ पर्व र संस्कृतिहरू जोडिएर आउँछन् । सबैको आआफ्नै महत्त्व र विशेषता छन् । जसमध्ये एक हो दशैं । हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड दशैंको मौलिकता मर्न दिन नहुने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्