तपाईँ सुन्दै हुनुहुन्छः

देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य हुन्न : माधव नेपाल

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।

आज नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले कसैलाई जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिनुभयो ।

संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्त्वप्रति सबै होसियार हुनुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै उहाँले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको बताउनुभयो ।उहाँले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो भन्ने लाग्छ भने जो कोही पार्टी बनाएर चुनावमा लड्न सक्छ भन्नुभयो ।

विगतका शासकहरूले कसरी यो मुलुक चलाएका थिए भन्ने सबैलाई एकएक कुराहरू सबै थाहा  छ उहाँले भन्नुभयो ।

गत बर्ष भएको निर्वाचन आफैँमा जनमत सङ्ग्रह भएको बताउँदै नेपालले जनताले सिधै पार्टीलाई विश्वास गरेका छौँ भन्ने देखाएको बताउनुभयो । पुराना दल र निका नेता कुनै काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताउनुभयो ।

देशका समस्या पहिचान गर्ने कुरामा सत्ता गठबन्धन अघि बढेको बताउँदै  यो गठबन्धन ५ वर्षको लागि बनाएको बताउनुभयो । समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई झन् बलियो बनाउने बताउँदै सरकार एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

यसलाई भत्काउने अनेक कोसिस भइरहेका छन् भन्दै उहाँले ती कुनै कोसिस सफल नहुने दाबी गर्नुभयो । अध्यक्ष नेपालले गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने दाबी गर्नुभयो । 

समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढाएको बताउँदै अध्यक्ष नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बिचार ब्यक्त गर्नुभयो ।

पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको बताउनुभयो ।

एमाले अध्यक्ष ओली प्रति ब्यंङ्ग्य गर्दै उहाँले धेरै अहङ्कार नगर्न र अहङ्कारले नाश गर्छ भन्दै सुध्रिन सुझाव दिँदा चित्त नदुखाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका कृषिमन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्साल,संघीय सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, एकीकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटी, भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेत लगायतले शुभकामना ब्यक्त गनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button