तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङबाट दैनिक २२ मेट्रिकटन स्याउ पोखरामा 

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा हिजोआज दैनिक करिब २२ मेट्रिकटन स्याउ पोखरामा ल्याइने गरेको छ । हिमाल पारीको जिल्ला मुस्ताङमा उत्पादन भएको स्याउ पोखरामा विगत एक महिना देखि २२ देखि २५ मेट्रिकटन आउने गरेको पोखरा शान्तिवन वाटिकामा रहेको कृषि उपज बजार व्यवस्थापन समितिका योजना सहायक रुपा दहालले बताउनु भयो ।

उहाँका अनुसार अघिल्लो महिना भदौ को २८ गते देखि नै पोखरामा मुस्ताङको स्याउ आउन थालेको हो । यद्यपि असोज २/३ गते देखि नियमित रुपमा स्याउ आउन थालेको योजना सहायक दहालले जनाउनु भयो । बाटो र व्यवसायीका कारण न्यूनतम ११ देखि अधिकतम ४२ मेट्रिकटनसम्म मुस्ताङबाट कहिलेकाहीँ स्याउ आउने गरेको उहाँले जनाउनु भयो । 

मुस्ताङको स्याउ न्यूनतम १ सय ५० देखि अधिकतम २ सय रुपैयाँमा कृषि उपज बजारबाट बिक्री हुने गरेको सहायक दहालले दाबी गर्नु भयो । प्रति केजी स्याउको पोखराको बजारमा खुद्रा मूल्य न्यूनतम १ सय ६० देखि ३ सय ५० रुपैयाँसम्म बिक्री भएको पाइन्छ । मुस्ताङमा किसानहरुले वोटमै प्रति केजी १ सय देखि १ सय ३० रुपैयाँसम्ममा बिक्री गरेको ठिनीका एक किसान भुपेन्द्र थकालीले बताउनु भयो ।

पछिल्लो एक हप्ता देखि पोखरामा आउन लागेको स्याउमा भने रस पसिसकेको र पुष्टिएकोले गर्दा बजारमा मुस्ताङको स्याउको अत्यधिक माग भएको व्यवसायीहरूले बताउनु भएको छ । मुस्ताङमा गोल्डेन डेलिसियस, रेडडेलिसियस, रिचारेड डेलिसियस, रोलय डेलिसियस लगायतका जातको स्याउ खेती हुँदै आएको छ भने २ हजार ५ सय भन्दा माथिको उचाइमा उत्पादन भएको मुस्ताङको स्याउ अन्य भन्दा केही गुणस्तरको हुने गरेको स्थानीयले बताउनु हुन्छ । जिल्ला समन्वय समिति मुस्ताङको समन्वयमा मुस्ताङका ५ वटै पालिकाका प्रमुख सहितको छलफलबाट असोज एक गते भित्र मुस्ताङमा स्याउ टिप्न नपाइने निर्णय गरे पनि केही व्यवसायीले करिब एक साता अघि नै स्याउ टिपेर पोखरासम्म पुराएको बताइन्छ ।

जलवायु परिवर्तनको कारण यसपाली फुल फुल्ने समयमा पानी परेको कारण परागसेचन (पोलिनेशन) हुन नपाएको हुँदा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा करिब ३० प्रतिशत घट्न सक्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताउनु भयो । मुस्ताङको तल्लो पालिका थासाङ र घरपझोङमा यस बर्ष स्याउ उत्पादनमा कमी आउने उहाँले दाबी गर्नु भयो । प्रमुख बस्ताकोटीका अनुसार मुस्ताङका अन्य गाउँपालिका बार्हगाउँ मुक्तिक्षेत्र, लोमाङथाङ र लो घेकर दामोदरकुण्डमा सामान्य रुपमा स्याउ उत्पादनमा कमी हुने छ । मुस्ताङ क्षेत्रमा गत बर्ष करिब ६० करोड मूल्य बराबरको स्याउ बिक्री भएको प्रमुख बस्ताकोटीले बताउनु भयो ।

यसपाली मुस्ताङको स्याउको गुणस्तर कायम गर्दै किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले असोज एक गते पछि मात्र स्याउ टिप्न अनुमति दिइएकोमा एकाध बाहेक अधिकांशले असोजको ३ गते देखि पोखरा लगायतका क्षेत्रमा स्याउ बिक्री गर्न लग्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button