खुल्ला फुटसल प्रतियोगिताको उपाधि मेन्टेन एफसीलाई
पोखरा । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको दोस्रो खुल्ला फुटसल प्रतियोगिता २०८० को उपाधि काठमाडौँको मेन्टेन फुटबल क्लब (एफसी) ले जितेको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न भएको फाइनल खेलमा काठमाडौँको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी उपाधि सहित ५ लाख नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारु मगर र युकेश श्रेष्ठले १/१ गोलको योगदान दिनुभयो । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित आयोजित प्रतियोगितामा उपविजेता भएको काठमाडौँको ढुकु फुटसल हबले नगद ३ लाख, शिल्ड, मेडल सहित प्रमाणपत्र प्राप्त गर्यो ।
देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित हुनुभयो । उहाँलाई नगद रु ५० हजार सहित ट्रफी प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डङ्गोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुदैं जनही नगद रु २५ हजार र ट्रफिसहित पुरस्कृत हुनुभयो ।
प्रतियोगिताको अनुशासित टिम बाझा पाटनको समूह बी थर्टीनले हात पार्यो ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि सांसद एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्यहरु भीम कार्की, सरस्वती गुरुङ, गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्र धारा विष्ट आयोजक संस्थाका संस्थापक राजन गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
सांसद पृथ्वी सुब्बा गुरुङले कार्यक्रममा बोल्दै खेलकुदको क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
गत असोज २७ गतेदेखि सञ्चालनमा रहेको फुटसल प्रतियोगितामा देशभरका कुल १४ वटा टिमको सहभागिता रहेको संयोजक आशिस क्षेत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्