तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको भौतिक र आर्थिक सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) एसिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दै गएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

आइएफजे एसिया–प्यासिफिकको कार्यकारी समितिको भर्चुअल बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै सदस्य सिग्देलले इजरायल–हमास युद्धको रिपोर्टिङ गर्ने क्रममा ज्यान गुमाएका पत्रकारप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका दुई जनाको खोजीको पहल गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले युद्धग्रस्त क्षेत्रमा मात्र नभएर सामान्य अवस्था हुँदा पनि पत्रकारमाथि आक्रमण र धम्कीका घटना भइरहेको उल्लेख गर्दै पीडक पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहनुभएका आइएफजेका सदस्य सिग्देलले नेपालमा अर्थतन्त्र कमजोर हुँदै जाँदा त्यसको असर आम सञ्चार माध्यममा पनि परेको बताउनुभयो । त्यसैगरी सामाजिक सञ्जालका कारण मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जोखिम बढेकाले नियामक निकायलाई बलियो बनाउनुपर्ने पनि उल्लेख गर्दै कार्यकारी सदस्य सिग्देलले भन्नुभयो, “अनलाइन समाचार पोर्टलमा भएको सङ्ख्यात्मक वृद्धिलाई गुणात्मक परिणाम ल्याउनका लागि प्रशिक्षण, नियमन र अनुगमनको दायरा बढाउन आवश्यक देखिएको छ ।”

त्यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ एसिया–प्यासिफिक अध्यक्ष सविना इन्द्रजितले युद्धग्रस्त क्षेत्रमा आइएफजेको भूमिका उपस्थिति र भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button