तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सञ्चारमाध्यम राष्ट्रको पहरेदार हो : पूर्वमन्त्री बास्कोटा 

काठमाडौँ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय सञ्चारमाध्यमहरू राष्ट्रको पहरेदार भएकाले ती माध्यमहरूको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

रेडियो नेपाल कर्मचारी युनियनले बडादशैँको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री बास्कोटाले सरकारी सञ्चारमाध्यमहरूको दायित्व नाफा कमाउनु नभई आम नागरिकलाई सुसूचित गर्नु रहेकोले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवा संस्थाका रुपमा रूपान्तरण गर्दा राज्यले यसको स्वायत्तता र आर्थिक दायित्व निर्वाह गर्ने गरी ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद बास्कोटाले जोखिम तथा सङ्कटको समयमा समेत राष्ट्रिय प्रसारणको दायित्व निर्वाह गर्ने रेडियो नेपालको इतिहास र भविष्य पनि बलियो रहेको  भन्दै राज्यले यसको विकास र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

संस्थाका समस्या समाधानका लागि आन्तरिक विभाजन भन्दा व्यवस्थापक र कर्मचारीहरूमा एकताको खाँचो रहेको पनि नेता बास्कोटाले औँल्याउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भौगोलिक विकटता र जनसाङ्ख्यिक हिसाबले रेडियो नेपाललाई सबैको सहज पहुँचमा पुर्‍याउने गरी आवश्यक काम भइरहेको बताउनुभयो । 

निर्देशक केसीले सार्वजनिक प्रसारण संस्थाका रुपमा रेडियो नेपाल र नेपाल टेलिभिजन रुपान्तरणको प्रक्रियामा रहेकाले त्यसपछि आउन सक्ने समस्याको समाधान गर्ने गर ऐनले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पेशागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल र सार्वजनिक संस्था राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष इन्दु आचार्यले श्रमिक कर्मचारीका समस्यालाई सरकारले बेलैमा समाधान गर्नुपर्ने र कर्मचारी र व्यवस्थाकबीच आपसी सहयोग र समन्वय हुन सके मात्र संस्थाको प्रगति हुने बताउनुभयो ।

रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरतप्रसाद घिमिरे, रेडियो नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष राजेश श्रेष्ठ र रेडियो नेपाल कर्मचारी संघका उपाध्यक्ष भीम विश्वकर्माले रेडियो नेपालको स्वायत्तता र आर्थिक सबलतामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button