तपाईँ सुन्दै हुनुहुन्छः

इतिहास र विचारका कारण काङ्ग्रेस अरू पार्टी भन्दा बलियो : नेता कोइराला

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस र नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले पछिल्लो समय काङ्ग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताउनुभयो ।

नेता कोइरालाले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काङ्ग्रेसका नेता दिलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान काङ्ग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काङ्ग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । काङ्ग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौँमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारी लगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button