तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ आएसँगै नेपालगन्ज नाकामा घर फर्किने नेपालीको लर्को

नेपालगन्ज। रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ आएसँगै घर फर्किने क्रम तीव्र भएको छ । नेपालगन्जस्थित जमुनाह नाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन लर्को लाग्ने गरेको छ ।

दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । प्रहरीका अनुसार केही दिनयता भारतमा काम गरी घर फर्किने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमा नाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाटका घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको प्रहरीले जनाएको छ । भारतबाट घर फर्किने नेपालीलाई लक्षित गरी जमुनाह नाकामा नेपाल प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ ।

पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठान लगायत जिल्लाबाट भारतमा रोजगारीका लागि नेपालीहरू पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button