तपाईँ सुन्दै हुनुहुन्छः

किसानले सहुलियतको बिजुली प्रयोग गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि फसलको उत्पादन, प्रशोधन र भण्डारणमा कृषि मिटर (विद्युत्) को व्यवस्था गरी किसानले सहुलियतको बिजुली प्रयोग गर्ने व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले सरकारबाट विद्युत् सहुलियत प्रदान गरिएका किसानले प्रयोग गर्ने विद्युत् महसुल छुट दिँदा घरमा जडान भएको मिटरमा मात्र छुट दिइएको तर किसानले सो सहुलियत कृषि उपजमा प्रयोग गर्न नसकेकाले त्यस्ता क्षेत्रमा विद्युत् प्रसारणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यस्तै बैठकले कृषि तथा वन पैदावारमा आधारित उद्योगले पाउने सहुलियत तथा छुटबाट वञ्चित हुने भएकाले उक्त बुँदामा उल्लेखित विषयलाई अनुसूची ४ अन्तर्गत राख्ने आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत स्वीकृत दरबन्दीमा कर्मचारी पदपूर्ति हुन नसकेकोले कार्यसम्पादनमा असर पुगेको भन्दै दरबन्दी सङ्ख्या र पदपूर्ति नभएका विवरण समितिमा पठाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button