वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण कार्य चुनौतीपूर्ण बन्दै

सुर्खेत । वैदेशिक रोजगारीबाट फिर्ता आउने आप्रवासीहरूको पुनः एकीकरण कार्य हालका वर्षमा एकदम चुनौतीपूर्ण बन्दै गइरहेको सरोकारवालाले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको नेपालको निजी क्षेत्रका लागि लैङ्गिक–उत्तरदायी आप्रवासी पुनः एकीकरण निर्देशिका सम्बन्धमा छलफल कार्यक्रममा सरोकारवालाले सामाजिक सहयोगको कमी, अत्यावश्यक स्रोत र सेवाहरूमा पहुँच कायम नहुनु, समुदायको प्रतिरोध, शिक्षाको कमी र पर्याप्त रोजगारीका अवसर नहुँदा पुनः एकीकरणका कार्य मुख्य चुनौतीहरू रहेको रहेको बताउनु भएको हो ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोदप्रसाद देवकोटाले कर्णालीमा वैदेशिक रोजगारीबाट फर्किनेहरूको तथ्याङ्क स्थानीय तहले सङ्कलन नगरिँदा प्रदेश सरकारलाई नीति तथा योजना बनाउन समेत समस्या भइरहेको बताउनु भयो । उहाँले कर्णालीबाट ठूलो सङ्ख्यामा कामको खोजीका लागि भारत जानेलाई श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगारी भनेर उल्लेख नहुँदा फर्केकाहरूको नीतिगतरुपमा उनीहरूको सीप, अनुभव र पुँजीको समेत सदुपयोग भए/नभएको कुनै जानकारी नरहेको जनाउनु भयो । उहाँका अनुसार नेपालको संविधान, २०७२ को धारा ५१ (राज्यका नीतिहरू) को (झ) (६) मा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले वैदेशिक रोजगारीबाट फर्की आएका कामदारहरूको सीप तथा बचतलाई उद्यमशीलता प्रवर्द्धन गरी देश विकास तथा गरिबी निवारणमा राज्यले सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले स्वदेश फर्किआउने कामदारहरूको लागि प्रभावकारी आर्थिक तथा सामाजिक पुनः एकीकरण प्याकेज सञ्चालन गरेर प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्न नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याउनु भयो । कार्यक्रममा सहभागी वैदेशिक रोजगारीबाट फर्की आएका कामदारहरूले सामाजिक आर्थिक विकासका लागि सामाजिक पुँजीको रूपमा सीप, प्रविधि र अनुभवलाई उपयोग हुन नसकेको बताउनु भयो ।
उहाँहरूले सम्मान र सुरक्षित स्वदेश फिर्तासँगै दिगो पुनः एकीकरणमा सहजीकरण गर्ने कार्य तीनै तहका सरकारी स्तरबाट नहुँदा आफूहरू मानसिक तथा आर्थिकरुपले विभिन्न चुनौतीको सामना गर्नु परिरहेको जनाउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक हरि पौडेलले निजी क्षेत्र भित्र वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सीप र पुँजीको स्वदेशमै स्थायी व्यवस्थापन गर्ने उद्देश्यले सुरक्षित तथा समतामूलक पुनर्मिलन सुनिश्चित गर्न अहिले उनीहरूको राय विचार सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा सरोकारवालाहरूको राय सुझाव सङ्कलन कार्यमा विषय विज्ञ उद्धवराज पौड्याल र संयुक्ता भण्डारीले सहजीकरण गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्