जापानी राजदूत र गण्डकी प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका बिच मङ्गलवार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले प्रदेशमा “हर्ट हस्पिटल” बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका केही जिल्ला निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उल्लेख गर्दै उहाँले प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न सम्भव नभएको र भौगोलिक विकटताले पनि पूर्वाधार निर्माण खर्चिलो भएको दाबी गर्नुभयो ।
नेपाल र जापानको लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग खुलेर प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा जापान सरकारको सहकार्यको अपेक्षा गरेको जनाउनुभयो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापान सरकार र अन्तर्गतका दातृ निकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग जारी राख्ने बताउँदै गण्डकी प्रदेश सरकारसँग पनि सहकार्य गर्ने वचन दिनुभयो । जापान सरकारले पनि नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उल्लेख गर्दै उहाँले नेपालको विकासको लागि जापान सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्