चार्टर विमानलाई इजरायल जान रुट परमिट लिन सरकारको निर्देशन

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले प्यालेस्टाइनी हमास समूहको आक्रमणका कारण इजरायलमा असुरक्षित रहेका नेपालीलाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा राख्न त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा बसेको बैठकमा सरकारले विमान चार्टरका लागि रुट परमिटको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
बैठकमा परराष्ट्रमन्त्री साउदले इजरायलमा हालका लागि कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न पनि सुझाव दिनुभयो ।
इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत् विवरण सङ्कलन भइरहेको जानकारी गराउँदै हालसम्म स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका मन्त्री साउदले बैठकलाई जानकारी गराउनुभयो ।

त्यसैगरी त्यहाँ रहेका गैरआवासीय नेपाली तथा इजरायली सेनाको सहयोगमा बङ्करभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जनासहित ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा सांसदहरुले सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि पहलकदमी लिएको भए पनि पर्याप्त नभएको विचार व्यक्त गर्नुभयो ।
सांसदहरुले इजरायलसँग सीमा जोडिएका जोर्डन, सिरिया तथा लेबनानमा समेत हमास आक्रमणको असर पर्न सक्ने भन्दै ती देशहरूमा रहेका नेपालीहरूको पनि तथ्याङ्क सङ्कलन गर्न सरकारलाई सुझाव दिनुभयो ।
बैठकमा सांसदहरुले युद्धरत मुलुकमा पूर्व सूचनाविना विद्यार्थीहरू जान दिनु सरकारको कूटनीतिक असफलता भएको भन्दै त्यहाँ रहेको नेपाली दूतावासको कार्यक्षमतामाथि पनि प्रश्न उठेकाले तत्काल राजदूत फिर्ता बोलाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्