तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेको मधेश प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पुरा

जनकपुरधाम । नेकपा एमालेको जनकपुरधाममा भोलिदेखि हुन लागेको मधेश प्रदेशको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । 

पहिलो पटक आयोजना हुन लागेको एमालेको प्रदेश अधिवेशनको तयारीको विषयमा प्रेस चौतारी नेपाल धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको छ । 

प्रदेश अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले गर्नु हुने कार्यक्रम रहेको प्रदेश अधिवेशन तयारी समितिका संयोजक एवं पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनु भएको छ । 

मधेश अधिवेशनमा ८ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गिय सङ्गठन सहितका निकायबाट गरेर १ हजार २७ जना प्रतिनिधि सहभागी हुने पनि अध्यक्ष यादवले जानकारी दिनु भयो । प्रदेश अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयं सेवक परिचालन सहितको सम्पूर्ण कार्य पुरा भएको जानकारी दिइएको छ । 

प्रदेश अधिवेशनलाई भव्य समारोहका बीचमा जनकपुरधामकाृे महेन्द्र नारायण मिथिला संस्कृति भवनमा पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ ।  

पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं मधेश प्रदेशका इन्चार्ज याेगेश भट्टराईले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक नेकपा एमालेले ७ वटै प्रदेशमा प्रदेश अधिवेशन गरिरहेको र त्यसमा मधेश प्रदेशमा अन्तिम अधिवेशन हुन लागेको बताउनु भयो । 

उहाँले पार्टीले यस वर्ष नै जिल्ला, पालिका, वडा अधिवेशनहरू गरेर पार्टीलाई नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पक्षमा पार्टी भएको बताउनु भयो । उहाँले प्रदेश अधिवेशनमा कूल ४० लाख खर्च हुने अनुमान गरिइएको छ । खर्चको सम्पूर्ण व्यवस्थापन पार्टी पक्तिभित्रैबाट भएको पनि सचिव एवं मधेश प्रदेशका इन्चार्ज भट्टराईले जानकारी दिनु भयो । 

पार्टीका सचिव भट्टराईले इजरायलमा मारिएका नेपाली प्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई फसेका नेपालीलाई शीघ्र प्रक्रिया मार्फत उद्धार गर्नका लागि माग गर्नु भयो । उहाँले इजरायलमा राजदूतावास नै भएको भएपनि उद्धारमा  ढिलाइ भएकोमा दुःख व्यक्त गर्दै चाँडो उद्धार गर्नका लागि माग गर्नु भयो । 

यसै बीच जनकपुरधामको वडा नंं ४ तिरहुतियागाछीमा रहेको महेन्द्रनारायण मिथिला सांस्कृतिक भवनमा सरसजावट, पण्डालको निर्माण तथा ठाउँ ठाउँमा स्वागतद्वारको निर्माण पनि गरिइएको छ । संस्कृति भवन परिसर भित्र ७ हजार मान्छे अटाउने गरि कुर्सी तथा पण्डालको व्यवस्थापन गर्ने काम भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button