तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले पेश गर्नुभएको विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

file photo

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विधेयक आवश्यकतामा आधारित रहेको भन्दै सबै क्षेत्रलाई समेटेको बताउनुभयो ।

मन्त्री बस्नेतले नेपालको आन्तरिक खपतलाई मध्यनजर गरेर मात्र विद्युत् निर्यात गरिने भन्नुहुँदै विद्युत् प्रसारणका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले रणनीति बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले सैद्धान्तिक छलललका क्रममा प्राप्त सुझाव र विधेयक माथिको दफावार छलफलले विधेयकलाई थप समृद्ध बनाउने बताउनुभयो ।

यस अघि बैठकको शून्य समयमा सांसद्हरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले प्यालेस्टेनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव नेपाल ल्याउन र घाइतेहरूको उपचार तथा बेपत्ताको खोजी गरी तत्काल उद्धार गर्न माग गर्नुभयो ।

बैठकमा सांसदहरुले चाडपर्वको समयमा भइरहेको मूल्यवृद्धि र कृत्रिम अभावको अन्त्य गर्नुपर्ने, स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज २५ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button