संघीय शासन प्रणाली बमोजिम हुलाक सेवाको पुनःसंरचना गर्न आवश्यक: मन्त्री शर्मा
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको बताउनु भएको छ । विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिनुहुँदै मन्त्री शर्माले परम्परागत रूपमा अब हुलाक सेवा प्रभावकारी बनाउन नसकिने र सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो ।
हुलाक सेवाको विश्वव्यापी सञ्जालमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रको रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहकार्य बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरूमा व्यापक कटौती भएको छ । सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्याउने गरी यसको सुरुवात गरिएको थियो ।
विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम हुलाक सेवाको पुनः संरचना गर्न आवश्यक रहेको समेत उहाँको भनाइ छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।
उहाँका अनुसार हुलाक सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य छ । ‘मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन,’ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ , ‘त्यसका लागि आवश्यक सङ्गठनात्मक पुनर्संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नु उत्तिकै आवश्यक रहेको छ ।’
सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्