इजरायलबाट नेपालीको उद्धार गर्न आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गर्नुभएको छ ।
इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमार्फत घटनाको भर्त्सना गर्नुभएको छ ।
इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकीन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्याउन सभापति देउवाले आग्रह गर्नुभएको छ । आवश्यक उद्धार गरी यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न समेत उहाँले माग गर्नुभएको छ ।
सभापति देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घसंस्था, आप्रवासी सङ्गठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायसँग पार्टीका तर्फबाट आग्रह गर्नुभएको छ । उहाँले अप्ठ्यारोमा परेका नेपालीले आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्नुहुन पनि आह्वान गर्नुभएको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।
आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव शङ्कर पोखरेलले शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्