सुरक्षा रणनीतिसहित अघि बढ्न सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सूक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५ का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिनुभयो ।
उहाँले सशस्त्र प्रहरी बलले सम्पादन गर्ने काम र जिम्मेवारीलाई थप विशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधन स्रोतको उपलब्धता, सुदृढ सङ्गठन प्रणाली र व्यवस्थापन महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सङ्गठनलाई आधुनिक र व्यावसायिक सुरक्षा निकायका रूपमा थप विकसित तुल्याई जनशक्ति, साधनस्रोत, भौतिक पूर्वाधार र अन्य सुधारका क्षेत्रमा ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका निम्ति नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण हुने विश्वास दिलाउनुभयो ।
उहाँले सङ्गठनलाई राज्यले दिएको विशिष्ट, महत्वपूर्ण र विशेष कार्य प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सङ्गठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिन आवश्यक भएको पनि बताउनुभयो ।
सशस्त्र प्रहरी प्रतिष्ठानले विशेष अध्ययन र चासो लिएर सम्भावित चुनौतीको पूर्वानुमान गरी सोहीअनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राज्यले सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक निष्ठा, अनुशासन र इमानदारिताका साथ सम्पन्न गर्दै आइरहेको सशस्त्र प्रहरी बलले राष्ट्रका आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका मूलभूत पक्षमा गहन भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकताको रक्षाका निम्ति प्रतिकूल मौसम, भौगोलिक विकटता तथा साधन स्रोतको सीमितताका बाबजुद सशस्त्र प्रहरीले गरेको कार्यसम्पादनका लागि सशस्त्र प्रहरीलाई धन्यवाद दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्