‘सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको भूमिका गहन हुनुपर्छ’
बीरगंज । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटाले सरकारलाई अझ प्रभावकारी बनाउन कांग्रेसको भूमिका गहन हुनुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर पर्साद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता समेत रहनुभएका पूर्व सभामुख सापकोटाले वामपन्थी एकीकरणको आवश्यकता मुलुकमा रहे पनि त्यो सहज नरहेको बताउनुभयो ।
उहाँले कोशी प्रदेश सरकार कसको नेतृत्व बन्ने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउने अभियानमा कांग्रेस पनि दृढ रहेको दाबी गर्नुभयो ।
उपाध्यक्ष सापकोटाले प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको सभालाई सम्बोधन गरे लगतै संयुक्त राष्ट्र संघका महासचिवको नेपालमा हुन लागेको भ्रमणबाट शान्ति प्रक्रियाका बाँकी काम टुङगोमा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले सरकार परिवर्तनको आवश्यकता नरहेको र अहिले जनतालाई अनुभूति दिने गरी सरकारले काम गरिरहेको दाबी गर्दै भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउँदै गएको बताउनुभयो ।
उहाँले सीमा क्षेत्रबाट हुने गरेको तस्करीका बारेमा आफूले सरकार र गृहमन्त्रीको गम्भीर रुपमा ध्यानाकर्षण गराउने बताउँदै मुलुकको अर्थतन्त्रलाई तस्करी तन्त्रले ध्वस्त पार्ने हुँदा यसतर्फ सरकार बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज एवं पोलिटव्यूरो सदस्य लीलामणि पोखरेलले भदौ १६ गतेदेखि शुरु भएको घर घरमा माओवादी, जन जनमा माओवादी अभियान सार्थक बन्दै गएको दाबी गर्दै यो अभियानले जनताका सबै प्रकारका समस्या बुझेर त्यसको समाधान निकाल्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्