बाल सुधार गृहको सुधारका लागि सबैसँग समन्वय र सहकार्य आवश्यक : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहको व्यवस्थापन सुधारका लागि सम्बद्ध सबै मन्त्रालयको समन्वय र सहकार्य आवश्यक पर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अध्ययन अवलोकनबाट देखिएका विषयहरूका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री आचार्यले बाल सुधार गृहलाई व्यवस्थित गर्न त्यहाँ सुरक्षा, स्वास्थ्य र शिक्षा अपरिहार्य रहेको भन्दै सम्बद्ध सबै मन्त्रालयको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सबै भन्दा संवेदनशील मन्त्रालय भए पनि बजेट कम हुँदा लक्ष्य अनुरूपको कार्य गर्न नसकिएको बताउनुभयो ।
मन्त्री आचार्यले बाल सुधार गृहमा रहेका बालबालिकाको न्याय निरुपणका लागि छुट्टै बाल अदालतको आवश्यकताको महसुस गरि सानोठिमी भक्तपुरमा छुट्टै बाल अदालत स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा सांसद्हरुले बालबालिकाका लागि व्यवस्थित सुधार गृह र ज्येष्ठ नागरिकका लागि सुरक्षित आवास निमार्ण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
सांसद्हरुले भक्तपुरमा बनाउने भनिएको अस्पताल सहितको ज्येष्ठ नागरिक भवन निमार्णको कार्यका लागि जग्गा प्राप्तिमा देखिएको समस्या तत्काल सुल्झाउन माग गर्नुभयो ।
सांसद्हरुले ज्येष्ठ नागरिकका लागि सुरक्षित आवास र बाल सुधार गृहको संरचना र सञ्चालनबारे नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्