तपाईँ सुन्दै हुनुहुन्छः

मैरी पालन व्यवसायबाट १० लाख आम्दानी

पोखरा ।पोखरामा मौरी पालन व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक किसानले उदाहरण दिनु भएको छ । पोखरा ३३ बागमाराका साकुरा एपियारी फार्मका सञ्चालक श्रीभद्र बराल मौरी पालन व्यवसायबाट आफु स्वरोजगार मात्र हुनु भएको छैन अन्य मौरी पालन गर्ने किसानकै प्रेरणाको श्रोतको रुपमा समेत परिचित हुनु भएको छ ।

विगत २५ बर्ष देखि निरन्तर रुपमा मौरी पालन व्यवसायमा आबद्ध बरालको बारीमा हाल ७५ मौरीका घारहरू रहेका छन्। जिल्ला मौरी पालक महासङ्घका अध्यक्ष समेत रहनु भएका बरालले मौसमी व्यवस्थापन गरी मौरी पालन गर्न सकिने बताउनु भयो । बर्खामा गर्नुपर्ने व्यवस्थापन, जाडो मौसम र कर्मी मौसममा गर्नुपर्ने व्यवस्थापन सहित घार भित्रका केही किराहरू हुन सक्ने भएकोले त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बरालले बताउनु भयो । उहाँले भन्नु भयो “मौरीको भित्री भागमा किरा लाग्ने सम्भावना हुन्छ भने बाहिरी रुपमा सत्रु जिवको रुपमा कहिले काहि आक्रमण गर्ने हुँदा त्यसलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ, जस्तै अरिङाल, पहेले, माउसुली, माकुरा, वन साङ्लो लगायतका रहेका छन् । ”

एपि सेरेना जातको मौरी व्यवसाय गर्दै आउनु भएको बरालले मौरी पालना गर्दा विशेष गरी तापक्रममा ध्यान दिन आग्रह गर्दै समुद्री सतहको ८ सय देखि अधिकतम ३ हजार मिटर माथिको उचाई सम्म पनि यसको व्यवसायीक खेती गर्न सकिने दाबी गर्नु हुन्छ । हाल उहाँले वार्षिक रुपमा करिब १० लाख रुपैयाँ आम्दानी गर्न सफल हुनु भएको छ भने मौरी पालन गर्ने किसानलाई प्रशिक्षण गराउन भ्याई नभ्याई भएको छ ।

हरियो वन नेपालको धन भन्ने नेपालको उखानलाई जब उहाँले मौरी पालन व्यवसाय गर्न थाल्नु भयो तब यसका अर्थ बुझ्नु भएको छ । वन जङ्गलबाट मौरीले औषधिय गुण सहित लाखौँको पुष्प रस सङ्कलन गर्ने हुँदा त्यसलाई उचित व्यवस्थापन गर्न सके वन जङ्गलबाट ठुलो आर्थिक लाभ लिन सकिने मौरी पालक किसान बरालको भनाई छ । मौरी विना वन जङ्गलमा उत्पादन भएको पुष्परस सङ्कलन गर्ने कुनै विधि अपनाउन नसकिने हुँदा वन जङ्गल भएको स्थानमा मौरी व्यवसाय गर्न उहाँको सुझाव छ ।

पछिल्लो समयमा गाउँ फर्क अभियान केही ठाउँमा सुरु भएको प्रसङ्ग उल्लेख गर्दै बरालले गाउँ फर्किएर राम्रोसँग मौरी पालन व्यवसाय गर्दा स्वरोजगार व्यवसाय बन्न सकिने उहाँको दाबी छ । कम्तीमा पनि ५० वटा मौरीका घारबाट व्यवसाय सञ्चालन गर्न सके मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्न कसैको रोजगार गर्न आवश्यक नपर्ने बरालको भनाई छ । गाउँ गाउँबाट हुने बसाई सराईलाई समेत नियन्त्रण गर्न मौरी पालन व्यवसाय गर्न सकिने उहाँले बताउनु भयो । शहरमा मौरी पालन खासै फष्टउन नसक्ने उहाँको भनाई छ । न्यूनतम ५० घार मौरी पालन गरेका व्यवसायलाई व्यवसायीक मौरी पालन किसान भन्ने गरिन्छ । पोखरा क्षेत्रमा उत्पादन भएको मौरीको बजारको कुनै समस्या नभएको बरालले दाबी गर्नु भयो ।

प्रति केजी महको १ हजार ८ सयमा बिक्री हुने गरेको उहाँले बताउनु भयो । मौरीको सङ्ख्यामा वृद्धि गर्न पहिला कम्तीमा ७ वटा फ्रेम भरी सके पछि सुपर कक्ष राख्न सकिने बताउँदै उहाँले छाउरा कक्ष भरे पछि सुपरकक्षमा मह उत्पादन हुने उनको अनुभव छ । मह काढ्दा चरन हुँदा मौरीले घार छोड्न सहज हुने चरन नहुँदा घारमै बढी मौरी टाँसिने समस्या हुने उहाँको अनुभव छ । भाले, कर्मी र रानीले आ आफ्नो भूमिका खेल्ने भएको बरालले बताउनु भयो । मौरी व्यवसाय गर्दा अन्य वालिमा तथा फलफूल तरकारीमा परागशेचन गराउन मद्दत पुग्ने हुँदा त्यसबाट उत्पादन समेत वृद्धि हुने गरेको बरालले जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button