तपाईँ सुन्दै हुनुहुन्छः

अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गर्नुभएको छ । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’मा उहाँले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्ने बताउनुभयो ।

पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने र चाडबाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्नेमा बताउँदै उहाँले भन्नुभयो, “पत्रकारले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे सुसूचित गर्न भूमिका निर्वाह गर्नुपर्छ ।”

सङ्घीय संसद्को तल्लो जनप्रतिनिधिमूलक अङ्ग प्रतिनिधिसभाका सभामुख घिमिरेले आमसञ्चारलाई प्रभावकारी बनाउनका लागि त्यस क्षेत्रमा योजना र बजेट दिन सरकारलाई सुझाव दिनुभयो ।

सो अवसरमा सांसद अर्जुननरसिंह केसीले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक द्वन्द्व हुन नदिन र मुलुकका सबै पर्व नेपालीको पर्व हो भन्ने भावना बढाएर राष्ट्रिय एकता मजबुत पार्नका लागि योगदान दिन पत्रकारलाई आग्रह गर्नुभयो । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री केसीले नुवाकोटबाट राजधानी आई पत्रकारिता गर्ने पत्रकारहरूको संस्था समाजले स्थापना गर्ने अक्षय कोषका लागि आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

सो अवसरमा नुवाकोट जिल्लाबाट राजधानीमा बसोबास गर्ने राजनीति, पत्रकारिता, साहित्य, संस्कृति, निजामती सेवा, उद्योग–व्यवसाय, रैथाने कृषि आदि सबै क्षेत्रका महानुभावको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button